संविधान निर्माण प्रक्रिया अनिश्चित बन्दै

365
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस (ओएनएस) : दलहरुले सहमति गर्न नसक्दा संविधान निर्माण थप अनिश्चयतिर धकेलिएको छ । सत्तारुढ दलले प्रक्रियाको बाटो खोज्न थालेका छन् भने विपक्षी दल त्यसलाई असफल पार्ने रणनीतिमा जुटेका छन् ।

दुईपक्षको रणनीतिले संविधानसभाका अध्यक्ष अप्ठ्यारोमा परेका छन् । सत्तासिन दल नेपाली कांग्रेसले सहमतिबाट अब सम्भव नभएको भन्दै प्रक्रियामा गएर भएपनि माघ–८ मै संविधान ल्याउनुपर्ने निस्कर्ष निकालेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रक्रिया अघि बढाउन सभामुख सुवास नेम्वाङलाई सुझाव दिने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

संविधानसभा नियमावलीमा भएका केही प्रावधानलाई निलम्बन गर्न र प्रक्रिया छोट्याएर संविधानका लागि प्रक्रियामा प्रवेश गर्न सभामुखलाई आग्रह गर्र्नेे कांग्रेसको निष्कर्ष छ । यसअघि एमालेले पनि प्रक्रियाबाटै भएपनि समयमा संविधान ल्याउने निणर्य गरेको छ ।

विपक्षी दल आन्दोलनमा
एमाओवादी लगायतका विपक्षी दलहरुले भने प्रक्रियाको विरोध गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय निर्णय गरेका छन् ।

आज बसेको विपक्षी सात दलको बैठकले जनचाहना विपरितको संविधान बनाउने तयारी गरेको भन्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको निवास हात्तिवनमा संविधानसभामा प्रतिनिधित्व गर्ने एमाओवादी, मधेसवादी लगायत विपक्षी दलका नेताहरुको बैठक बसेको थियो ।


  •  
  •  
  •