काठमाडौँ, ४ पुस (ओएनएस) : संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल जारी रहदा सत्तापक्षका सभासहदरुले सहमित नभए प्रक्रियामा जाने रटान लिएका छन् । यता विपक्षी दलका सभासदहरुले भने सहमतिको विकल्प नभएको तर्फका राखेका छन् ।
छलफलमा भाग लिँदै नेकपा (एमाले)का विष्णु पौडेलले संविधानका विवादित विषयमा सहमतिमा पनि पुग्न सक्दैनौँ, प्रक्रियामा पनि जान जाँहदैनौँ , हामीले संविधानसभालाई के बनाउन खोज्यौँ ? भन्ने प्रश्न गर्दै सहमतिमा पुग्न नसकिएमा संविधानसभामा नै प्रक्रियामा जानु पर्ने बताए ।
उनले बहुमतले अल्पमतको भावना कदर गर्न र अल्पमतले पनि बहुमतको भावनालाई सम्मान गर्दै अगाडि बढ्न सकिएमा माघ ८ मा संविधान जारी गर्न सहज हुने धारणा राखे ।
नेपाली काँग्रेसका कमला पन्तले दलहरुबीचमा माघ ८ मा संविधान जारी गर्न सहमति भइसकेको हुँदा अब कुनै पनि बहाना र निहुँमा संविधान लेखन प्रक्रिया अवरुद्ध गर्न नहुने बताए
एनेकपा (माओवादी)का प्रभु साहले संविधान लेखनमा सहमतिको अर्काे विकल्प नभएको हुँदा बहुमतीय प्रणालीद्वारा संविधान लेखन अगाडि बढाइएमा यो आफ्नो पार्टीका लागि मान्य नहुने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम थापाले दलगत स्वार्थभन्दा जनताको भावनालाई कदर गर्न आवश्यक भएको चर्चा गर्दै राज्यकोे पुनः संरचना, शासकीय स्वरुपजस्ता विषयमा थप व्यापक छलफल हुन आवश्यक रहेको भनाई राखे ।
मधेसी जनअधिकार फोरम (नेपाल)का सांसद लालबहादुर राउतले बहुमतीय प्रणालीभन्दा सहमतीय प्रणाली संविधान लेखनका क्रममा आवश्यक रहेको चर्चा गर्दै सबै जनताको भावनालाई कदर गर्न र संविधानलाई सहमतिको दस्तावेज बनाउन आग्रह गरे ।