संविधानको विवादित विषयमा सहमति नहुँदा सभासदहरु निराश

182
  •  
  •  
  •  

काठमाडौँ, ३ पुस (ओएनएस) : संविधान निर्माण प्रक्रियामा उत्पन्न विवादित विषयमा सहमति नहुँदा सभासदरु निराश बनेका छन् ।

संविधानसभाको बिहिबारको बैठकमा सभासद्हरूले राजनीतिक दलका शीर्ष नेताबीच संविधानका अन्तरवस्तुमा सहमति नहुँदा संविधानसभामा रस्साकस्सी बढेकामा गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफलमा भागलिँदै ६०१ सदस्यीय संविधानसभाबाट ७५ सदस्य रहेको संवाद तथा सहमति समितिमा पुनः प्रतिवेदन पठाउन नसकिने तर्क गरे । प्रतिवेदनका पक्ष र विपक्षमा बहस गर्नु निरर्थक भएको भन्दै उहाँहरूले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्नैपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका धनराज गुरुङले सहमति गर्न विलम्ब गर्न नहुने भाषण गर्ने नेताहरूले आजसम्म संविधानका अन्तरवस्तुमा सहमति नगरेकामा खेद प्रकट गर्दै मतदानबाट तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताए ।

नेकपा (एमाले) का भरतमोहन अधिकारीले सहमति नभए प्रश्नावली तयार गरेर संविधानसभामा प्रस्तुत गर्ने कार्यतालिका पालना नभएकाले पूर्ण सभाबाटै त्यसलाई निरुपण गराँै भन्दै समय घर्किसकेकाले समस्याको गाँठो फुकाउन संविधानसभा अध्यक्षले नेतृत्व गर्नुपर्ने धारणा राखे ।

उनले गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्रलगायत विषयमा सहमति भइसकेकाले विवाद नबल्झाउन आग्रह गर्दै विज्ञहरूलाई प्रदेशको नाम र सीमाङ्कन गर्ने जिम्मा दिएर सहमति कायम गर्न सकिने बताए ।

एनेकपा (माओवादी) का अग्निप्रसाद सापकोटाले इतिहासबाट पाठ सिक्न नसकेको र युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न नसकिएको, अन्तरिम संविधानको प्रस्तावनालाई बेवास्ता गरिएको, विगतका सम्झौता पालना नगरिएकामा आपत्ति प्रकट गर्दै संवाद तथा सहमति समितिमाथि निरन्तर प्रहार भएको गुनासो गरे ।

उहाँले परिवर्तनको प्रवाहलाई रोक्ने खेल सुरु भएको भन्दै एमाओवादी रहँदासम्म जनतालाई अधिकार दिने विषयमा कोही कसैसँग सम्झौता नगरिने धारणा राखे ।

राप्रपा नेपालका गणेश थापाले सहमतिको कुरा गरे पनि सहमति नभएको अवस्थामा नयाँ बाटो तय गरेर तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा जोड दिँदै दलहरु मिल्न नसके जनमत सङ्ग्रहमा गएर भए पनि विवादित विषयको समाधान गर्न आग्रह गरे ।


  •  
  •  
  •