सहमति नभए संविधानसभा १३ वा १४ गते देखि प्रक्रियामा प्रवेश गर्ने

177
  •  
  •  
  •  

ca-buildingकाठमाडौ, ५ बैशाख(ओएनएस) : संविधानका विषयमा दलहरुबीच सहमति नजुटे नभए आगामी बैठकले तोक्ने अर्को बैठक देखि संविधानसभा प्रक्रियामा प्रवेश गर्ने भएको छ । दलहरुले सहमतिका लागि भन्दै पटक-पटक बैठक पछि सार्न आग्रह गरेपनि अहिले स्वतस्फूर्त रूपमा पाएको समय समेत उपयोग नगर्दा अहिलेसम्म सहमति निर्माण हुन सकेको छैन ।

विपक्षीहरूले गत चैत्र २३ गतेका लागि सभाध्यक्षले संविधानसभाको बैठक तोक्दा शीर्ष तहमा छलफल नगरी बैठकको मिति तोकेर सभाध्यक्षले सहमतिका लागि समय नदिएको आरोप विपक्षी एमाओवादीले लगाएको थियो । ‘मलाई संविधानसभाका अध्यक्षसँग ठूलो अपेक्षा थियो, उहाँले संविधानमा सहमतिका लागि शीर्ष तहलाई छलफलमा राखेर मात्र अर्को बैठक बोलाउनुहुन्छ भन्ने लागेको थियो’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘तर उहाँले एकतर्फी बैठक लाकेर आफ्नो भूमिकालाई सहमतिका लागि उपयोग गर्नुभएन्, म उहाँ देखि निराश छु ।’ तर सहमतिका लागि १३ गतेको बैठक पछि द्ई हप्ताको समय प्राप्त हुँदा समेत दलहरु सहमतिमा पुग्न सकेका छैनन् ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले गत ११ माघमा संविधानसभालाई प्रक्रियामा प्रवेश गराउन प्रश्नावली निर्माणका लागि प्रस्ताव समिति गठन गरेपछि १४ गते बैठक बसेर संविधानसभा र समितिहरुका बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा करीब एक महिना भन्दा बढी उसले संसदीय समिति बैठकमा समेत भाग लिएन । पछि संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्दै फर्किएको एमाओवादी गत ३० गतेको बैठकमा संविधानसभामा भाग लिएको थियो ।

तर, ३० गते सभाध्यक्षले बैशाख ६ गतेलाई बैठक तोकेर राखेको प्रमुख दलको बैठकमा समेत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सभाध्यक्षले छलफल गरेर मिति तोक्नुपर्नेमा मिति तोकेर छलफल गरेको भन्दै ‘उल्टो प्रक्रिया अघि बढेको’ टिप्पणी गरेका थिए । ‘मैले सबै पक्षका नेताहरु संलग्न बैठकमा पनि राखे छलफल गरेर मिति तोक्नुपर्नेमा मिति तोकेर छलफल गर्दा प्रक्रिया उल्टो भयो भनेर’ अध्यक्ष दाहालले भनेका थिए, ‘तर पनि छलफल सु्र भएको छ, यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ ।’

तर, पनि यतिका दिनसम्म सकारात्मक परिणाम भने देखिएको छैन ।

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाको आइतबारको बैठक पनि शोक प्रस्ताव मात्र पारित गरेर स्थगित हुने भएकाले तीन वा चार दिन मात्र समय दिएर अर्को बैठकको मिति तोक्ने तयारी गरेका छन् । ‘म आफै मिति तोक्ने तयारी भन्दा पनि शीर्ष नेताहरुबाट नैं मिति तोक्न प्रस्ताव आओस भन्ने पक्षमा छु’ सभाध्यक्ष नेम्बाङले भने, ‘अब पहिला जस्तो एक हप्ताको नभएर केही कम समय दिएर अर्को बैठक बोलाउने तयारी गरेको छु ।’

सभाध्यक्ष नेम्बाङले आइतबार तोकिने बैठकले नभएर त्यस पछिको बैठकपछि मात्र संविधानसभा प्रक्रियामा प्रवेस गर्ने बताए । ‘विषय वा प्रक्रियामा सहमति भएर त्यस पछिको बैठकले त्यही सहमति अनुसारको प्रक्रिया अघि बढाउँछ’ उनले भने, ‘यदि त्यतिबेला पनि सहमति नभए, नियम, कानुन र स्थापित अभ्यास अनुसार संविधानसभा अघि बढ्छ ।’ उनले यति हुँदा हु्ँदै पनि आफू दलहरुबीच सहमति हुन्छ भन्ने विश्वासमा रहेको बताए ।

‘सभाध्यक्षले संविधानसभाको बैठक आगामी ९ गतेका लागि तोक्नुहुन्छ होला’ कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने, ‘९ गतेको बैठकले १३ गतेका लागि अर्को मिति तय गर्ला, त्यस अवधीमा पनि सहमति नभए संविधानसभा प्रक्रियामा प्रवेश गर्छ ।’ उनले एमाओवादी चक्रव्युहबाट बाहिर ननिस्किए सहमतिको संभावना पनि क्षीण रहेको बताए ।

‘उहाँहरू (एमाओवादी) पूर्वका ९ जिल्ला एक प्रदेश माग्ने लिम्बुवान देखि समग्र मधेस एक प्रदेश माग्ने मधेसी दलसँग गठबन्धन गरे अघि बढ्नुभएको छ’ सचेतक श्रेष्ठले भने, ‘उहाँहरूलाई त्यसबाट बाहिर निस्कन गाह्रो देखिएको छ ।’ उनले दोस्रो तहका नेताहरुबीच धेरै समझदारी निर्माण भएपनि एमाओवादी गठबन्धनबाट बाहिर निस्कन नसक्दा सहमतिका लागि शीर्ष तहको वार्ता समेत हुन नसकेको बताए । ‘एमाओवादी चक्रव्युहबाट बाहिर ननिस्कदासम्म सहमति संभव छैन’ उनले भने ।

उनले कांग्रेस एमालेबीच खटपट नभएको दावी गर्दै अहिले नेताहरुले राखेका तर्कलाई विवादका रुपमा चित्रण गरिदिँदा केही विवादीत खबर सार्वजनिक भएको बताए ।

‘कांग्रेस–एमाले एकै भ्वाइसका साथ एमाओवादीको ६ प्रदेशमै भएपनि सहमति गर्ने भनेको हो’ उनले भने, ‘९ गतेसम्म बस्ने बैठकबाट मिति तोकिन्छ त्या मितिमा पनि सहमति हुन सकेन भने १२ वा १३ गते सम्ममा संविधानसभा प्रक्रियामा प्रवेश गर्छ ।’


  •  
  •  
  •