संविधानसभाको बैठक बोलाउने सभाध्यक्षको तयारी

150
  •  
  •  
  •  

subash nembang ca chief_काठमाडौं ११ चैत (ओएनएस) : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक बोलाउने तयारी गरेका छन् । बैठकको तयारीका लागि आज उनले दलहरुसँग छलफल गर्दैछन् । प्रमुख दलका प्रमुख सचेतकहरूसँग आफ्नै कार्यकक्षमा दिउँसो १ बजे प्रमुख सचेतकहरूलाई नेम्वाङले कार्यकक्षमा बोलाएका छन् ।  संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले दलहरुलाई दिएको अल्टिमेटम आज बुधबार सकिदैछ । गत माघ २९ गतेको बैठकबाट दश दिनपछि अर्को बैठक डाक्ने तयारीमा लागेका सभाध्यक्ष नेम्बाले नागरिक समाज र प्रमुख राजनीतिक दलको आग्रहमा अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

संविधानसभाको बैठक एक महिना स्थगित भइसकेपछि ११ गतेसम्मको अल्टिमेटम दिएका नेम्बाङले बैठक कहिले डाक्ने भन्ने विषयको छलफल पनि बुधबारबाटै प्रारम्भ गर्न लागेको हुन् । नेम्बाङले प्रमुख सचेतकहरुबाट छलफल थालेर बुधबार नैं राष्ट्रपतिसँग पनि छलफलका लागि समय तय गरेका छन् ।

दिउँसो एक बजे आठ दलका प्रमुख सचेतकहरुलाई नेम्बाङले बैठकमा डाकेका छन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, राप्रपा र मधेसी जनअधिकार फोमरका प्रमुख सचेतकलाई सभामुख नेम्बाङले बैठकमा डाकेका हुन् । नेम्बाङले प्रमुख सचेतकहरुसँग छलफल गरेर संविधानसभाको बैठक बोलाउने विषयमा धारणा बनाउने बताइएको छ ।

नेम्बाङले प्रमुख सचेतकहरुसँगको छलफलपछि बनाएको धारणाबारे राष्ट्रपति यादवलाई ब्रिफ गरिसकेपछि मिति तोक्ने विषयका लागि दलीय छलफल गर्न लागेको स्रोतले बताएको छ । ‘सभाध्यक्षले प्रमुख सचेतक र राष्ट्रपतिसँगको छलफलपछि संविधानसभाको बैठक बोलाउने विषयमा दलीय छलफलपछि निर्णय लिनुहुनेछ’ स्रोतले भन्यो, ‘यदी शीर्ष नेताहरुसँगको छलफलपछि बैठक बोलाउने विषयमा सहमति नभए प्रधानमन्त्री र सत्तारुढ दलको परामर्शमा बैठकको मिति तय हुनेछ ।’

नेम्बाङले राष्ट्रपति डा. रामबरण यादवसँग भेटका लागि साँझ पाँच बजेको समय पाएका छन् । बिहान ११ बजे नै राष्ट्रपतिको समय मागेका नेम्बाङले राष्ट्रपति कार्यालयबाट भेटका लागि साँझ पाँच बजेको समय पाएका छन् ।

सभामुख नेम्बाङले बुधबारको समय पुरै बाँकी रहेको भन्दै बैठक बोलाउनेबारे कुनै टिप्पणी नगर्ने बताए । ‘दलहरुलाई दिएको समय बुधबार पुरै बाँकी छ, अहिले यसमा मेरो कुनै टिप्पणी छैन’ नेम्बाङले भने, ‘हामीले असम्भव भनेका विषयमा एक छिनमा सहमति निकाल्ने दलहरुले चाहेभने अझै पर्याप्त समय बाँकी छ ।’ उनले प्रमुख सचेतकहरुको बैठक बुधबारका लागि बोलाएको भन्दै त्यही बैठकमा दलीय धारणा पनि प्राप्त हुने बताए ।

गत माघ पाँच गते संविधानका विवादीत विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति गठन गर्ने विषयको विवादका कारण प्रभावित हुन थालेको बैठक माघ ११ पछि लगातार १८ दिन स्थगित भएको थियो । माघ २९ मा बैठक बसेर प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन बुझेर स्थगित भएको संविधानसभाको बैठक एक महिना ११ दिन बितिसक्दा समेत अझै अनिश्चित छ ।


  •  
  •  
  •