‘प्रस्ताव निर्माण समिति गठन : एमाओवादीको सुझावको आधारमा’

413
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ, ११ माघ (ओएनएस) : एमाओवादीसहितको विपक्षी दलहरुको सुझावको आधारमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव निर्माण समितिको गठन गरेको सभाध्यक्ष निकट स्रोतले दाबी गरेको छ ।

यसअघि शुक्रबारको संविधानसभाको बैठक बस्नुअघि सभाध्यक्षले संविधानको गतिरोध अन्त्य गर्नका लागि दलहका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा एमाओवादी लगायतका दलहरुको सुझावको आधारमा सभाध्यक्षले प्रस्ताव समिति गठन गरेको स्रोतले दाबी गरेको छ । दलहरुले सभाध्यक्षको उक्त प्रस्तावलाई सकारात्मक संकेत दिएपछि सभाध्यक्षले शुक्रबारको बैठकमा अर्काे बैठकबाटबाट निकास निस्कने पनि बताएका थिए ।

सभाध्यक्षको उक्त प्रस्तावपछि विपक्षी मोर्चाले शनिबार संविधानसभाको बैठक १० दिन स्थगित गर्नको लागि सत्तारुढ दलसँग आग्रह गरेको थियो । ‘विपक्षीहरुले सभाध्यक्षको प्रस्तावमै  १० दिनको लागि छलफलबाट निकास निकाल्न भन्दै संविधानसभाको बैठक स्थागित गर्न आग्रह गरेका हुन् । ’ सभाध्यक्ष निकट स्रोतले भने ‘ तर आज राष्ट्रपति डा. रामवरण यादवसँगको भेटमा उनीहरुले सात दिनको म्याद मागे । ’

विपक्षीले छलफलको लागि समय माग गरिरहेको बेला सभाध्यक्षले प्रस्ताव समितिको बैठक ५ दिनपछि बोलाएको पनि स्रोतको दाबी छ । ‘विपक्षीहरुले सत्तापक्षसँग वार्ता गर्नको लागि समय माग गरिरहेको सन्दर्भमा सभाध्यक्षले प्रस्ताव समितिको बैठक ५ दिनपछि बोलाउनु भएको छ । ’ सभाध्यक्ष स्रोतले पाँच दिनमा दलहरुबीच कुरा मिल्ने पनि दाबी गरेको छ । स्रोतले भन्यो ‘ दलहरुबीच पाँच दिनमा कुरा मिल्छ, बाहिर विरोध गर्नुको कुनै अर्थ छैन ।’

सभाध्यक्ष नेम्वाङले आइतबार संविधानसभामा प्रस्ताव निर्माण समिति गठन गरेपछि एमाओवादी नेतृत्वको मोर्चाले सभाध्यक्षले महाभूल गरेको भन्दै तीब्र विरोध गरेको छ । सभाध्यक्षको कदम नसच्चिएसम्म दलहरुसँग बैठक नबस्ने पनि विपक्षीले निर्णय गरिसकेको छ ।


  •  
  •  
  •