प्रस्ताव निर्माण समिति गठन : सत्तापक्ष खुसी, विपक्षी आक्रोशित

152
  •  
  •  
  •  

काठमाडौ, ११ माघ(ओएनएस) : संविधानसभामा प्रस्ताव निर्माण समिति गठन भएपछि सत्तापक्ष खुसी देखिँदा विपक्षी भने आक्रोशित भएका छन् । सत्तापक्षले यसलाई संविधान निर्माण प्रक्रिया अघि बढेको बताएका छन् भने विपक्षीले देशलाई द्धन्द्धमा पुर्याउने प्रक्रियाको सुरूवात भएको बताएका छन् ।

संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रियाको सुरूवात देशलाई द्धन्द्धमा पुर्याउने काम भएको टिप्पणी गरेका छन् ।

विपक्षीको नाराबाजीबीच सभाध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेपछि सकिएको बैठकबाट बाहिरिने क्रममा दाहालले संविधानसभाको मर्म, शान्ति सम्झौताको मर्ममाथी प्रहार गरिएको बताएका छन् । उनले पत्रकारहरूको अब के गर्नुहुन्छ भन्ने प्रश्नमा आफूहरू जनताबीच गएर प्रक्रियाको विरोध गर्ने बताएका छन् ।

उनले सभामुख पार्टीको प्रवक्ताको रूपमा प्रस्तुत भएर प्रस्ताव निर्माण समिति गठन गरेर कलंकको टिका लगाएको टिप्पणी गरेका छन् । उनले अघिल्लो संविधानसभामा आफूहरुले एक पटक बैठक राख्नुस् भन्दा नमानेको तर अहिले भने विपक्षीको विरोध हुँदाहुँदै बैठक राखेर पेलेर जाने काम गरेको आरोप लगाएका छन् । उनले प्रस्ताव निर्माण समितिको गठनलाई प्रतिक्रान्ति हर्कत भएको बताएका छन् ।

उनले संविधानसभाभित्र सयौको मर्यादापालक राखेर संविधानसभालाई ब्यारेक बनाउने काम गरिएको समेत आरोप लगाए ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले प्रस्ताव समिति गठन कसैको विजय या पराजयको कुरा नभएको बताउँदै भने, ‘मलाई विश्वास छ माओवादी पनि समितिमा आउँछ र संविधान निर्माण प्रक्रिया अघि बढ्छ ।’

बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रस्ताव समिति गठन भएपनि सहमतिको ढोका अझै बन्द नभएको बताएका छन् । अझै पनि सहमतिमा विवादित विषयलाई टुङग्याउन सकिने बतएका छन् ।

उनले देश र जनादेशलाई ध्यानमा राखेर प्रक्रियाको सुरूवात गरिएको बताएका छन् । उनले एमाओवादी लगायतका दलहरू सहमतिका लागि आउने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच एमाओवादी नेता डा. बाबुराम भट्टराईले ट्वीट गर्दै २०४७ सालको संविधान नयाँ खोलमा जारी हुन लागेको भन्दै प्रतिवाद गर्न आग्रह गरेका छन् ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •