संविधानका विवादित विषयमा सहमति गर्न समय थपिने

82
  •  
  •  
  •  

काठमाण्डौं, १ असोज (ओएनएस) : संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका विवादित विषयमा सहमति खोज्न थप समय दिईने भएको छ । समितिले विवादित विषयमा सहमतिका लागि थप समय आवश्यक रहेको भनेपछि संविधानसभाले संविधानको मस्यौदा गर्ने समयलाई असर नगर्ने गरि समय थप्ने तयारी भएको हो ।

संविधानसभा स्रोतले भन्यो,‘ असोज मसान्तसम्म संविधानको मस्यौदा तयार गरिसक्नुपर्छ त्यसलाई असर नगर्ने गरि समय थप हुन्छ होला ।’ कार्यतालिका अनुसार संविधानसभाको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको राय प्रतिक्रियाको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने छ । अहिले समितिले सहमति र असहमति समेटेर पेश गरेको प्रतिवेदनमाथी संविधानसभामा छलफल भईरहेको छ ।

बिहीबार समितिको प्रतिवेदनमाथीको छलफल सकिएपछि आवश्यक निर्देशन सहित असहमतिको विषयलाई सहमति गर्न संविधानसभाको बैठकले आवश्यक निर्देशनसहित समितिमा पठाउने तयारी छ । सहमति भएका विषयलाई भने मस्यौदा समितिमा पठाइने छ । विवादित विषय टुंग्याउनका लागि समितिलाई अन्तिम समय दिईने भएको छ । स्रोतले भन्यो,‘ अन्तिम शब्द प्रयोग हुँदैन होला तर सहमतिका लागि यो अन्तिम नै हो ।’

समितिले राज्यपुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति जुटाउन सकेको छैन । संविधान सभाको पूर्ण बैठकमा समितिका सभापति डा.बाबुराम भट्टराईले ‘सहमतिका लागि पानी तातेको र उम्लिन मात्रै बाँकी रहेको’ भन्दै थप छलफलका लागि समय माग गरेका थिए ।  समितिले भदौको २१ गतेसम्म सबै विवादित विषय सहमति गर्ने कार्यतालिकाअनुसार काम गर्न असफल भएको थियो ।

समितिलाई अब जति सहमति हुन्छ त्यसलाई तत्काल संविधानसभामा पठाउन निर्देशन दिईने भएको छ । यसअघि समितिले सहमतिका विषय एकैचोटी संविधानसभामा पठाएको थियो । समय नभएकाले मस्यौदाका लागि सहज होस भनेर सहमतिका विषयलाई तत्काल संविधानसभाको पूर्ण बैठक पेश गर्ने निर्देशन दिने तयारी गरेको संविधानसभा स्रोतले जनाएको छ ।


  •  
  •  
  •