यस्तो थियो मध्यमार्गी प्रस्ताव- किलेन कुरा

59
  •  
  •  
  •  

काठमडौं ९ माघ ।
दलीय प्रतिबद्धताअनुसार संविधानसभा बैठक सुरु भएको एक वर्षभित्र संविधान जारी गर्ने भनिएको दिन बिहीबार सहमतिका लागि राजनीतिक दौडधुप निकै भयो । संविधान जारी नहुने र राजनीतिक धु्रवीकरण पनि बढिरहेकाबेला सहमतिको अन्तिम प्रयासमा अघि सरे कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता माधव नेपाल । त्यसमा थपिए फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ।

विवाद मिलाएर अवरुद्ध संविधानसभा सुचारु गर्न कांग्रेस र एमालेका तर्फबाट देउवा र नेपालले बीचको बाटो के हुन सक्छ भनेर निकैबेर पहिल्याउने कोसिस गरे । प्रमुख विवादित चार विषयमध्ये केहीमा सहमति गरी प्रक्रियामा लैजाने र केहीमा छलफल चलाउँदै अघि बढ्ने गरी तत्कालको गतिरोध चिर्ने उनीहरूको प्रयास थियो । त्यसैले के के विषयमा सहमति गर्न सकिन्छ र कुन विषय थाती राख्न सकिन्छ भनेर उनीहरूले विपक्षी गठबन्धनका नेता गच्छदारसँग छलफल चलाए ।

पहिलो बैठकअघि नै देउवा र नेपालले सहमतिबाट अघि बढ्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । उनीहरूबीच पटकपटक छलफल भयो । स्रोतका अनुसार छलफलमा विवाद मिलाउने सूत्रको खोजी भयो । एमाले नेता नेपालले गत आइतबारै करिब सहमतिमा पुगेको विन्दुबाट अघि बढ्नुपर्ने प्रस्ताव राखे । उक्त प्रस्तावअनुसार निर्वाचन प्रणाली र न्याय प्रणालीलाई सहमतिका रूपमा पारित गरी मस्यौदा समितिमा पठाउने, शासकीय स्वरूप पनि फरक मतसहित मतदानको प्रक्रियामा अघि बढाउने र संघीयताबारे दुई साताभित्र टुंगो लगाउने गरी छलफल अघि बढाउने कुरा गरे । नेता देउवाले पनि त्यही ढंगको कुरा एमाओवादी र गच्छदारसँग राखे ।

त्यसको केही समयपछि गच्छदारले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीका मिलेका विषयलाई संविधानसभाबाट पारित गरी मस्यौदा समितिमा पठाउने र संघीयताबारे एकखाले प्रतिबद्धतासहित छलफल जारी राख्ने प्रस्ताव राखे । संघीयताको सम्बन्धमा ६ देखि ९ प्रदेश बनाउने प्रतिबद्धतासहित विज्ञको टोली बनाएर सीमांकन टुंग्याउने र नामांकनको जिम्मा प्रदेशसभालाई दिने उनको प्रस्ताव थियो । गच्छदारको प्रस्ताव विपक्षी मोर्चाले माने सत्तापक्षलाई मनाउने जिम्मा आफूहरूले लिने सन्देश नेपाल र देउवाले दिए । लगत्तै एमाओवादीसहितका १९ दलको बैठक बस्यो । त्यो बैठकले गच्छदारले राखेको प्रस्ताव अस्वीकार गरिदियो र बिहीबार संविधान नभए पनि सहमतिको सन्देश दिने दलीय प्रस्ताव त्यत्तिकै तुहियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मिलेका विषय प्रक्रियामा लैजान नमानेपछि साझा प्रतिबद्धतामा मात्र चित्त बुझाउन सत्तापक्ष तयार भएन । मोर्चाका नेता लक्ष्मणलाल कर्णका अनुसार दलहरूबीच न्याय प्रणालीमा मात्र कुरा मिल्यो, निर्वाचन प्रणालीमा सैद्धान्तिक सहमति भयो । ‘राज्य पुनर्संरचनामा सत्तापक्षसँग सहमति भए मात्रै शासकीय स्वरूप फरक मतसहित अगाडि बढाउने भनिएको हो,’ मोर्चाको निर्णय सुनाउँदै उनले भने, ‘त्यसैले साझा प्रतिबद्धता जनाऔं भनेको हो, सत्ता पक्षले नमाने हाम्रो संघर्ष जारी रहन्छ ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अघि सारेको प्रस्ताव वास्तवमा कांग्रेस-एमालेकै भएको बताए । ‘विजयजीले संघीयतालाई थाती राखेर र अरू नमिलेका विषयलाई पनि जबर्जस्ती प्रक्रियामा लाने भन्दा कांग्रेस-एमाले खुसी भएका थिए । त्यो मोर्चाको प्रस्ताव होइन, उहाँको व्यक्तिगत हो । उहाँले सरसल्लाहै नगरी प्रस्ताव राख्नुभयो, मोर्चाले त्यसलाई स्वीकार गरेन,’ उनले भने ।

बैठकमै रहेका कांग्रेस युवा सभासद गगन थापाले मोर्चाका प्रमुख नेताको प्रस्तावमा अरू सहमत नभएपछि अब कोसँग वार्ता गर्ने भन्ने प्रश्न उठेको बताए । ‘केही दिनअघि पनि सहमतिका लागि अघि सारिएको प्रस्तावमा दाहालले सहमति जनाउनुभएको थियो । तर, मोर्चासँग सोध्ने भन्दै बाहिरिएपछि कुरा मिलेन,’ उनले भने, ‘आज -बिहीबार) पनि मोर्चाका नेता गच्छदारको प्रस्ताव अरूलाई मान्य भएन । अब कांग्रेस-एमालेले सहमतिका लागि कोसँग वार्ता गर्ने ? दाहाल र गच्छदारसँग नरहेको प्राधिकार कोसँग छ ? खोज्ने बेला भएको छ ।’

बिहीबारको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली आफैं धेरै अघि सरेनन् । उनीहरूले देउवा र नेपाललाई नै अघि सारे । एमाओवादी र मधेसी नेताहरूले निहुँ खोजिरहेकाले समन्वयका लागि देउवा र नेपालले अग्रसरता लिएको नेताहरूको दाबी छ । संविधानसभाको दिउँसोको पहिलो बैठक नसकिँदै एमाले अध्यक्ष ओली बाहिरिए । प्रधानमन्त्री कोइराला केही समय संविधानसभाभित्रै बसे । तर, उनी पनि ‘पखाला’ लागेर बिरामी भएपछि बाहिरिए । कोइराला र ओलीको अनुपस्थितिमा संविधानसभाभित्र सहमति खोज्ने जिम्मा देउवा र नेपालले सम्हालेका थिए । एमाओवादी र मधेसी मोर्चाभित्र पनि सहमतिको अलिक बढी प्रयास गच्छदारले गरेका थिए । त्यसैले सहमति खोज्न उनी अघि सरे ।
कान्तिपुरबाट


  •  
  •  
  •