काठमाडौं ३ असोज ।
संविधानसभा बेहुलीझैँ सिँगारिएको छ । व्यवस्थापिका–संसद्को बैठक भएकाले संविधानसभा भवनको भित्री भाग भने आइतबार बिहान मात्रै सजाउने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । भवनको अग्रभागमा रहेका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको झन्डा फहराइएको छ ।
भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा सजाइएका छन् । अतिथि आउने–जाने बाटोमा गमलामा रंगीचंगी फूल राखिएका छन् । बाह्य सजावटको सम्पूर्ण काम नेपाली सेनाले गरेको हो । भवनभित्रको सजावट सचिवालयको संयोजनमा त्यहाँका कर्मचारीले गर्नेछन् । समारोहका क्रममा संविधानसभा भवनको ठीकअघि पानीको फोहोरा चलाइनेछ । सं
विधान जारी गर्न कारगेडमा आउने राष्ट्रपति रामवरण यादवलाई विशेष सम्मानका साथ संविधानसभा भवनभित्र लैजाने र ल्याउने रिहर्सल शनिबार बेलुका नै सम्पन्न भइसकेको छ ।
संविधानसभा भवनभित्र विभिन्न रङका फूलमाला र पुष्पगुच्छाले हल पूरै सिँगारिनेछ । रंगीचंगी हलको अग्रभागमा रहेको रोस्ट्रममा सभाध्यक्ष नेम्वाङ, उनको दाहिनेपट्टि उही आकार, रङ र आकृतिको अर्को कुर्सीमा राष्ट्रपति यादव बस्नेछन् । सँगै महासचिव मनोहरप्रसाद भट्टराई र केही कर्मचारी बस्ने व्यवस्था गरिएको छ ।
उपराष्ट्रपति परमानन्द झालाई भने विशेष कुर्सीका साथ हलको बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था छ । आमन्त्रित कूटनीतिक नियोगका अधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पत्रकारलाई बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था गरिएको छ भने अन्य अतिथि त्यसभन्दा पछाडि बस्नेछन् ।
नेपालमा रहेका विभिन्न देशका राजदूतसहित अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिलाई समारोहमा निमन्त्रण गरिएको छ । संविधानसभा भवनभित्र हजारको हाराहारीमा मात्रै अटाउने भएकाले अघिल्लो संविधानसभाका सभासद् र अन्य अतिथिलाई भवनभित्रकै न्हुत्से हलमा प्रोजेक्टरबाट देखाउने व्यवस्था मिलाइएको छ ।
आमन्त्रित अतिथिका लागि खानपिनको व्यवस्था छुट्टाछुट्टै गरिएको छ । राष्ट्रपतिलगायतका विशिष्ट अतिथिलाई ल्होत्से हलमा र अन्यलाई भवनबाहिर त्रिपाल टाँगेर बनाइएको स्थानमा खानपिन गर्ने व्यवस्था मिलाइएको छ । सजावट, बत्तीले झिलिमिली पार्ने, सबै अतिथिले सजिलै सुन्न र देख्न सकिने व्यवस्था मिलाउने काम सम्पन्न भएको संविधानसभा भवनका टेक्निसियन केशव कोइरालाले जानकारी दिए । संविधानसभा भवनको बाहिरी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको जिम्मामा छ । भवनभित्रको सुरक्षादेखि मर्यादा कायम गराउने सम्पूर्ण काम नेपाल प्रहरीका मर्यादापालकले गर्नेछन् । विशेष समारोहका लागि नियमितभन्दा थप मर्यादापालकको व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।
नयाँपत्रिकाबाट