संविधानसभाको एजेण्डा तय गर्न राजनीतिक परामर्श तीब्र

201
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ,  २२ चैत ‍(ओएनएस)  :  संविधानसभाको सोमबारको बैठकको एजेण्डा के हुने भनेर सभाध्यक्षदेखि राजनीतिक दलसम्म परामर्शमा जुटी रहेका वेला सोमबारको बैठकलाई एउटा दुःखद एजेण्डा प्राप्त भएको छ । संविधानसभाका पूर्वसदस्य एवं एमाले नेता रामनाथ ढकालको निधन भएका कारण भोलिको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको हो ।

ढकालको निधनको खबर अघिसम्म दलीय परामर्समा जुटेका सभाध्यक्ष सुवास नेम्बाङले संविधानसभाको सोमबारको बैठकमा दुई जना संविधानसभाका सदस्यहरुको समितिमा नाम हेरफेर गरेर एकीकृन नेकपा माओवादीलाई आन्दोलनका कार्यक्रम पछि सारेर वार्तामा आउन आग्रह गर्ने कार्यसूचीको तयारी गरेका थिए । सभाध्यक्ष नेम्बाङलाई सोमबारको बैठक संविधानका विषयको छलफलमा प्रवेश नै नगरी स्थगित गरिदिने तयारी भएपनि अर्को बैठकको मिति तय गर्ने र अर्को बैठको को सूची के हुने भन्ने चिन्तामा परेका छन् ।

सभाध्यक्ष नेम्बाङले संविधानसभाले पर्याप्त समय दिदा पनि दलहरुबीच सहमति हुन वा परिणाममुखी छलफल समेत हुन नसकेको भन्दै बैठक तोक्नु आफ्नो बाध्यताका रुपमा व्याख्या गर्ने गरेका छन् । उनले दलहरुले सामुहिक भेटघाटमा दुई घण्टामा सहमति हुने बताएपनि महिनौ गुज्रदापनि सहमति हुन नसकेको र सहमति नजिक रहेका कारण थप समय आवश्यक भन्ने भनाई पनि नआएकाले बैठक तोक्नुको विल्कप नभएको बताउने गरेका छन् ।

राजनीतिक छलफल तीब्र

दलीय असहमतिका कारण संविधानसभा बैठकको कार्यसूची के हुने भन्ने अन्योल सोमबारको बैठकका लागि टरेपनि अर्को बैठक कहिले बोलाउने र त्यो बैठकको एजेण्डा के बनाएर अघि बढ्ने भन्ने विषयको अन्योल भने अझैपनि चिरिएको छैन ।

यद्यपी राजनीतिक दलहरु सोमबारको बैठकको एजेण्डा के बनाउने र अहिलेका समस्याबाट कसरी पार पाउने भन्ने विषयमा छलफलमा जुटीरहेका छन् । सभाध्यक्ष नेम्बाङले एमाओवादीका दोस्रो तहका नेताहरुलाई आफ्नै कार्यकक्षमा डाकेर बन्दका कार्यक्रम पछि सार्न आग्रह गरेका छन् ।

एमाओवादी नेता कृष्णबहादुर महरा नेतृत्वमा गएको नेताहरुको टोलीले आइतबारको बैठक अघि सहमतिमा पुग्न सत्तापक्षले पहल नै नगरेको भन्दै बहुमतीय प्रक्रियामा जानेगरी बैठक अघि नबढाउन सुझाएका छन् । त्यसक्रममा सभाध्यक्ष नेम्बाङले आमहड्ताल कार्यक्रमपछि सारेर राजनीतिक छलफलमा जुट्न नेतृत्वलाई दवाव दिन आग्रह गरेका छन् ।

महासचिव महरासहित टोपबहादुर रायमाझी र शक्ति बस्नेत छलफलमा सहभागि भए । नेताहरुले शीर्ष तहमा छलफलनै नगरी बैठक डाक्दा सभाध्यक्षको भूमिका सम्योजनकारी नदेखिएको भन्दै बैठक नैं पछि सारेर छलफलमा जुट्न प्रस्ताव गरे ।

एमालेको नयाँ प्रस्ताव

एमालेको तर्फबाट नेता सुरेन्द्र पाण्डले सभाध्यक्ष नेम्बाङ र एकीकृत नेकपा माओवादीका नेताहरुलाई सहमतिका लागि नयाँ प्रस्ताव प्रस्तुत गरेका छन् ।

उनले अहिले सबैभन्दा बढि विवाद संघीयता भएको भन्दै संघीयताका विषयमा सुझाव तयार पार्न संविधानसभा भित्रै कार्यदल बनाएउन प्रस्ताव गरेका हुन् । ‘सबैभन्दा बढी विवाद संघीयतामा देखियो’ पाण्डेले भने, ‘त्यसैले बढीमा २० दिनभित्र सुझव पेस गर्ने कार्यादेशसहित कार्यदल बनाएर बाँकी विषयमा संविधानसभाले निर्णय गर्दै जानुपर्छ ।’

पाण्डेले यो प्रस्ताव एमाओवादी नेताहरुसँग पनि राखेका छन् । कस्तो प्रतिक्रिया आयो त एकीकृन नेकपा माओवादीबाट ? भन्ने प्रश्नमा पाण्डले भने, ‘एमाओवादी नेताहरु पनि यसमा सकारात्मक देखिनुभएको छ, तर अध्यक्ष प्रचण्ड बाहिर रहेका कारण निर्णय गरेर अघि बढ्न नसकिने बताउनुभएको छ ।’

कांग्रेस प्रश्नावलीमै सहमति खोज्दै

नेपाली कांग्रेसले सहमतिका लागि प्रश्नावली समिति भित्रै ‘स्पेस’ खोज्ने प्रयास गरेको छ । ‘सत्तामा रहेका दलहरुले प्रस्तुत गरेको नौ बुँदे प्रस्ताव र विपक्षी मोर्चाका तर्फबाट अनौंपचारिक रुपमा आएको नौ बुँदे प्रस्तावबाटै प्रश्नावली बनेका छन्’, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ‘खाली उहाँहरु (विपक्षी)को चित्त बुझाउन केही नयाँ प्रस्ताव ल्याउदा सहमति गर्न प्रधानमन्त्रीले छलफलका लागि डाकिरहनु भएको छ ।’

उनले सहमतिका लागि विपक्षीबाट प्रस्ताव आएमा त्यसलाई कहाँनेर ‘स्पेस’ दिने भन्ने विषयमा निर्णय गरेर त्यहीअनुरुप कार्यसूचीका लागि प्रधानमन्त्रीले संविधानसभा अध्यक्षलाई आग्रह गर्ने बताए ।

प्रधानमन्त्री परामर्शमा व्यस्त

यसैबीच प्रधानमन्त्री सुशील कोइरालले विपक्षीहरुसँग छलफल गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सरकारी निवास बालुवाटारमै डाकेर छलफल गरेका छन् । उनले सहमतिमा संविधान जारी गर्दा सकारात्मक सन्देश जाने भएपनि प्रक्रियामा जानुको विकल्प नभएको भन्दै सहज विकल्प बारे जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष थापाले संविधानसभाको बैठक एक हप्ता स्थगित गरेर विपक्षीहरुसँग गम्भिर छलफल गर्न सुझाएका छन् ।

प्रधनमन्त्री कोइरालले एकीकृत नेकपा माओवादी र मधेसी दलका नेताहरुसँग छलफलका लागि प्रयास गरिरहेका छन् । आइतबार विहानदेखि छलफलका लागि नेताहरुलाई डाक्न निर्देशन दिएका प्रधानमन्त्री कोइरालले आइताबार साँझदेखि सोमबार विहानसम्म छलफल गरेर सोमबारको बैठक अघि सभाध्यक्षलाई बैठकको कार्यसूचीबारे केही सुझाव दिने तयारी गरेका थिए । तर, बैठक नै शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएपछि उनलाई छलफलका लागि थप सयम प्राप्त भएको छ ।


  •  
  •  
  •