काठमाडौं ४ चैत ( ओएनएस) : व्यवस्थापिका–संसद् नियमावली मस्यौदामाथि छलफल सुरु भएको छ । नियमावली समितिको बैठकले उपसमितिले बनाएको नियमावली मस्यौदामा छलफल सुरु गरेको हो । आज मस्यौदामाथि दफाबार छलफल हुनेछ । ११ बजे काठमाण्डुको सिंहदरबारमा बस्ने बैठकमा मस्यौदामा दफाबार छलफल हुने तय गरिएको छ ।
त्यस क्रममा विज्ञको राय समेत लिइनेछ । समितिका सभापति राधेश्याम अधिकारीले परिमार्जित मस्यौदामा आजदेखि तीन दिन लगातार छलफल हुने जानकारी दिनुभयो । नियमावली परिमार्जनका लागि समितिका सदस्य रामनारायण विडारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । उपसमिति संयोजन विडारीले मस्यौदामा दफाबार छलफल भएपछि नियमावली बन्ने जानकारी दिनुभयो । संसदीय नियमावली नबन्दा संविधान कार्यान्वयनमा समस्या भएको छ ।