काठमाडौं, ९ माघ (ओएनएस) : शुक्रबार १ बजेको लागि बोलाइएको संविधानसभाको बैठक २ घण्टा ढिलोगरि सुरु भए लगत्तै एमाओवादी नेतृत्वको मोर्चाले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका छन् ।
विपक्षी सभासदहरुले संविधानको विवादित बिषयमा प्रश्नावली समिति गठन प्रक्रिया सुरु गर्न लागेको भन्दै विरोध गरेका हुन् ।
यसअघि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले बिहिबार मध्यरातिसम्म संविधानसभामा नाराबाजी गरेपछि शुक्रबारको लागि बैठक स्थगित भएको थियो ।
संविधानसभाको बैठक गत सोमबार रातिबाट लागतार अवरुद्ध हुँदै आएको छ । विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका हुन् ।
यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति विपक्षी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता संविधानसभाको बैठक अबरुद्ध हुँदै आएको छ ।
दलहरुबीच संविधानको मुख्य विषयहरु राज्य पुनःसंरचना, शासकिय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीमा विवाद छ । सत्तारुढ काँग्रेस–एमाले एक पक्षमा छन् भने एमाओवादी नेतृत्वको विपक्षी मोर्चा अर्काे पक्षमा छन् ।