संविधानसभाको बैठक आज फेरि

716
  •  
  •  
  •  

काठमाडौं ९ माघ ।  संविधानसभा चुनावी घोषणापत्र र जनतासँग गरेको बाचाअनुसार ‘२०७१ माघ ८’ मा नयाँ संविधान जारी गर्न राजनीतिक दलहरू असफल भएका छन्। बिहीबार अन्तिम घडीसम्म न सत्तापक्षले भनेजस्तो प्रक्रियाले गति लिन सक्यो, न विपक्षी मोर्चाको अडानअनुसार संविधानका विवादित विषयमा सहमति कायमै भयो।

संविधानसभाको बिहीबार बसेका दुइटै बैठक एकीकृत माओवादी, मधेसीसहित १९ दलीय विपक्षी मोर्चाको अवरोधका कारण सुचारु हुन नसक्दा बहुमतीय आधारमा संविधान बनाउन सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुरु गरेको प्रक्रियामाथि अन्योल चुलिएको छ। प्रमुख दलका शीर्ष नेताबीच एकअर्कालाई दोषारोपण गर्ने क्रम अझै जारी छ। अघिल्लो दिनजस्तै विपक्षीको लगातार नाराबाजीपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

विवादकै बीच पनि प्रमुख दलका शीर्षनेताहरू बिहीबार केहीबेर संयुक्त बैठक भने बसेका थिए। खासै उपलब्धि भने भएन। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ल्याएको प्रस्तावमा सहमति होला–होलाजस्तो भएर अन्तिममा एकीकृत माओवादीको असहमतिका कारण त्यत्तिकै तुहियो। त्यसलगत्तै बेलुका पौने नौ बजे संविधानसभा बैठक सुरु हुनासाथ विपक्षी मोर्चाले नाराबाजी थाले र अन्तिम समयसम्म अवरुद्ध गरिरहे।
होहल्लाकै बीच राति साढे ११ बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठकमा आफ्नो लिखित वक्तव्य वाचन गर्दै ‘दलहरूको प्रतिबद्धताअनुसार एक वर्षमा संविधान नबनेकोमा मर्माहत भएको’ बताए।
उनले ‘माघ ८ अन्तिम नभएको र हुन पनि नसक्ने’ भन्दै समयमा संविधान जारी गर्न नसकेको भनी जनता र विश्वले नकारात्मक रूपमा हेर्न सक्ने हुँदा अवरोध हटाउन विपक्षीहरूसँग आग्रह गरेका थिए। ‘संविधानका विषय र प्रक्रियामा सहमति नभएपछि बाध्य भएर मैले प्रक्रिया प्रारम्भ गर्न चाहेको हुँ,’ नेम्वाङले यसो भन्दा सत्तापक्षीय सभासदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए। विपक्षीको नाराबाजी भने जारी नै थियो।

नेम्वाङले नेपालको इतिहासमा संविधानसभा पहिलोपटक यसरी अवरुद्ध भएको उल्लेख गर्दै यही क्रम जारी रहे संविधानसभाबाट संविधान बन्न नसक्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पटकपटक सहमतिको कोसिस गरे पनि एकीकृत माओवादीले सहमति नै नचाहेको स्पष्ट पारे। ‘हामीले पटकपटक सहमतिको कोसिस गर्यौंी,’ ओलीले भने, ‘संवाद समितिमा एकपटक फर्काउने ठाउँमा ६ पटक फर्काइयो। पाँच महिना संवाद समितिका सभापतिले त्यत्तिकै खाइदिनुभयो, माघ ८ भित्र संविधान जारी गर्न असम्भव बनाउनुभयो।’

उनले एमाओवादीलाई संविधानसभामा राम्ररी पराजित गर्न नसक्नु र आएपछि पनि सुधार्न नसक्नु नै आफूहरूको कमजोरी भएको प्रतिक्रिया दिए। ‘उहाँहरूलाई राम्रो शिक्षादीक्षा दिन सकिएन, त्यो नै हाम्रो कमजोरी भयो,’ बिहीबारको बैठक स्थगनपछि उनले पत्रकारहरूसँग भने, ‘दुईतिहाइ हामीसँग छ। केही मान्छेले हल्ला गर्दैमा उहाँहरूले सक्नुहुन्न, त्यहाँ हामी साढे चार सय छौं।’

‘संविधान बन्न नदिन उहाँहरू एक वर्ष सफल हुनुभयो। हामीले भिडन्त नचाहेको हो। हामी संयमित भएका हौं। अहिलेको संविधानसभा असफल हुँदैन। सकेसम्म छिटै संविधान दिन्छ,’ उनले भने।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने यथास्थितिवादी र प्रतिक्रियावादी संविधान बन्न नदिएर आफूहरूलाई गर्व लागेको टिप्पणी गरे। ‘दुईतिहाइको घमण्डले हुनै लागेको सहमति पनि तोडियो,’ उनले भने, ‘यतिबेला देशले संविधान वा गतिलो प्रतिबद्धता पाउनुपर्ने ठाउँमा बहुमतको दम्भले केही पाउन सकेन।’ नागरिकबाट


  •  
  •  
  •