बेथितिमै गुज्रियो माघ ८

119
  •  
  •  
  •  

काठमाडौं ९ माघ । खुर्सानी आतंक, बेथिति, प्रतिपक्षबाट निरन्तरको नाराबाजी र व्यवधानपछि कुनै वैकल्पिक व्यवस्थाबिनै संविधान लेखनको म्याद गुज्रिएको छ।
कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरू चुनाव घोषणापत्रमा उल्लेख गरेअनुसार र सार्वजनिक रूपमा प्रतिबद्धता गरेबमोजिम माघ ८ मा संविधान ल्याउन असफल भएका छन्।

एमाओवादी नेतृत्वको १९ दलीय गठबन्धनको अवरोधबीच सभाध्यक्ष सुवास नेम्बाङले बिहीबार राति साढे ११ बजे संविधानसभा बैठक स्थगित गरे।

दलहरूबीच सहमति जुटाएर जनतामा सन्देश दिने कोसिस असफल भएपछि सभाध्यक्ष नेम्बाङले अवरुद्ध संविधानसभा बैठकमा एक वर्षमा संविधान दिने भनी दलहरूको विगतमा गरेको प्रतिबद्धता स झाउँदै बैठक स्थगित गरे।

संविधानसभा नबन्नुमा एकअर्कामाथि दोष थोपर्दै नेताहरू घरतिर लागे, मध्यरातमा। एक वर्षमा संविधान दिने भनी बनाइएको कार्यतालिकालाई पुनर्जीवन दिने कोसिस पनि कसैले गरेन।

एमाले वरिष्ठ नेता माधव नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच सकारात्मक वार्ता भएपछि सभाध्यक्ष नेम्बाङले एकै दिन संविधानसभाका दुईवटा बैठक बसालेका थिए।

एमाओवादी गठबन्धनको दुई घन्टा लामो अवरोधबीच बैठक स्थगित गरेर सभाध्यक्षले दलहरूसँग वार्ता र सहमति प्रयास गरेका थिए। उनकै पहलमा चार दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकमा सहमतिको प्रस्ताव पेस गरे, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले।

उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भइसकेकाले त्यसलाई मस्यौदा समितिमा पठाउने र संघीयताको मुद्दामा एक महिनामा सहमति खोज्ने प्रस्ताव गरेका थिए।

चार दलको बैठकमा सबै नेताहरू सकारात्मक देखिएपछि आआफ्नो दलमा कुराकानी गर्ने भन्दै निस्किएका नेताहरू पूर्ववत् अडानमा अडेपछि निकर्ष निस्कन सकेन। गच्छदारको प्रस्ताव १९ दलीय मोर्चाले अस्वीकार गरेको थियो।

‘व्यक्तिगत रूपमा कसका के प्रस्ताव आउँछन् थाहा भएन’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘न्याय प्रणालीबाहेक अन्य विषयमा सहमति हुन नसकेकाले अन्य विषयलाई समय लिएर सहमति खोज्ने १९ दलीय मोर्चाको निर्णय भयो।’

‘आज गच्छदारजीको प्रस्ताव पनि उहाँहरूलाई मान्य भएन’, बैठकपछि बाहिरिँदै एमाले अध्यक्ष केपी ओलीले भने, ‘उहाँहरू न सहमतिमा आउने न प्रक्रियामा जान चाहने।’

माघ ८ मा संविधान बन्न नदिन एमाओवादी गठबन्धन सफल भएको उल्लेख गर्दै ओलीले भने, ‘जनताको अपेक्षामा तुषारापात गर्न सफल हुनुभयो।’
एमाओवादीले तीनवटै विषय मस्यौदामा पठाउन नसकिने भन्दै राजनीतिक सन्देश दिनुपर्ने अडान राखेपछि सहमति नभएको एमाले अध्यक्ष ओलीले बताए।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र यथास्थितिवादी संविधान आउन नदिन आफूहरू सफल भएको बताए।

सभाध्यक्ष सुवास नेम्बाङले संविधानसभाको बिहीबारको पहिलो बैठकमा माघ ८ मा संविधान आउन नसके पनि संविधान बन्ने सुनिश्चित आधार दिन ३१ वटै दलका नेताहरूको ध्यानाकर्षण गराएका थिए।

रोस्ट्रम घेराउ गरिरहेका दललाई लक्षित गर्दै नेम्बाङले भनेका थिए, ‘जनता हामीलाई प्रश्न गरिरहेका छन्, हेरिरहेका छन्। यसले के सन्देश दिन्छ?’

सन्देश दिने स्थितिमा पनि दलहरू नपुगेपछि नेम्बाङले संविधानसभा बैठकमा भने, ‘प्रतिबद्धताको बाबजुद एक वर्षको समयावधिभित्र संविधान निर्माण हुन नसकेकोमा म अत्यन्त मर्माहत र दु:खित भएको छु।’

माघ ८ आउनै लाग्दा मस्यौदा बनाउने र प्रक्रियामा लैजान गरिएका दुवै प्रस्तावमा दलहरू सहमत नभएकोमा नेम्बाङले दु:ख व्यक्त गरे। ‘जस्तोसुकै विषम परिस्थितिमा पनि सहमति र सहकार्यको अपेक्षा मैले गरिनै रहेको तथ्य विगत र वर्तमानको कामकारबाहीबाट जगजाहेर नै छ।

तर त्यो मेरो सदिच्छा र सदप्रयासका बाबजुद पनि राजनीतिक दलका बीचमा विषय तथा प्रक्रियामा सहमति हुन नसकेपछि मैले बाध्य भएर संविधानसभा नियमावलीले निर्धारण गरेको संविधन निर्माण प्रक्रियामा प्रारम्भ गर्न चाहेको छु।

यसबाट निश्चित समयमा संविधान बन्ने सुनिश्चितता हुन्छ भन्ने मेरो विश्वास छ।’ अचानक बिरामी परेपछि प्रधानमन्त्री सुशील कोइराला भने बैठकमा अनुपस्थित रहे। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •