किन बनेन संविधान ?

396
  •  
  •  
  •  

Sushil pantaकाठमाडौं, ८ माघ ।  पूर्वनिर्धारित कार्यतालिका अनुसार संविधानसभाले काम गरेको भए सायद आजको दिन नेपाली जनताका लागि उल्लासमय हुने थियो । संविधानसभा भवन नयाँबानेश्वर चोकमा निषेधाज्ञा र काँडेतारका बार लगाउनुको सट्टा संविधान जारी गर्नको लागि संविधानसभा भवन सिगारिएको हुनेथियो । यतिबेला संविधानका प्रतिमा सभासद्लाइ हस्ताक्षर गर्न हतारो हुने थियो ।

तर राजनीतिक दलको अदूरदर्शिता र अकमण्यताका कारण यसपटक पनि संविधानसभाले तोकिएको मितिमा संविधान जारी गर्न सकेन । संविधानका प्रति सार्वजानिक गर्नुपर्ने ठाँउमा माघ ८ को बिहानै खुर्सानीको धुलोका पोका भेटिने अबस्था श्रृजना भयो । आफ्ना प्रतिनिधिबाट लेखिएको संविधान पाउने आशामा बसेका जनतामा निराशा छाउने काम मात्र भयो ।

एक महिना अघिसम्म पनि माघ ८ मै संविधान दिने दाबी गरेका दलहरु माघ ८ ‘कुनै ज्योतिषले जुराएको बाध्यकारी दिन होइन’ भन्दै राजनीतिक बेइमानीमा उत्रिए । माघ ८ को समय सीमा त्यतिकै गुज्रीयो । प्रधानमन्त्री सुशील कोइरालाले एक महिना अघि सम्मपनि ‘माघ ८ मा संविधान ल्याउन रोक्ने कुरा सूर्यलाइ हत्केलाले छेक्नु’ जस्तै भएको भन्दै थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै माघ ८ आयो, आकाश खसेन । अरु दिन जस्तै बिहानै घाम उदायो ।

संविधानसभाले संविधान दिनुको साटो माघ ८ को पूर्वसन्ध्यामा संविधान सभाभित्र जे जस्ता हर्कत भए, त्यसले संविधानसभाको गरिमा घटाएको छ । संविधानसभालाई प्रक्रिर्यामा लाग्न खोजेको विरोधमा एमाओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले माघ ५ को मध्यरातमा संविधानसभामा तोडफोड गरेर संविधानसभाको गरिमा गिराए । अराजक र उत्तेजित शैलीमा एमाओवादी सभासद्हरु आफै बस्ने कुर्सी टेबलमाथी बजारे । संविभानसभा अध्यक्षको आशनतर्फ बुट फाले । हुल–हुज्जत गरे । अत्यन्त मर्यादित ठाँउ क्षणभरमै कुस्ती खेल्ने मैदान जस्तो बन्यो ।

संविधानसभामा भएको तोडफोडपछि काँग्रेस एमालेका नेताहरुले एमाओवादी सभासदका क्रियाकलापलाई बाँदरको संज्ञा दिए । यद्यपि ७ माघमा काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा तोडफोड हुनुमा सत्तारुढ दल जिम्मेवार रहेको दाबी गरेका छन् । संविधानसभामा माओवादी सभासद्को भद्दा क्रियाकलापले संविधानसभा उनीहरुको फगत रणनीति मात्र थियो भन्नेहरुलाइ मलजल पु-याइदिएको छ ।

कार्यप्रगतिका हिसाबले संविधानसभा त्यही बिन्दुमा छ, जहाँ पुगेर पहिलो संविधानसभा बिघठन भएको थियो । पहिलो संविधानसभा संविधानको मस्यौदा गर्ने क्रममा बिघटन भएको थियो भने दोस्रो संविधान सभापनि मस्यौदा निर्माणको चरणमा छ । दोस्रो संविधानसभाको उपलव्धी भनेको पहिलो संविधान सभाको स्वामित्व ग्रहण गर्नुमात्र देखियो ।

एमाओवादी सभासद्हरुले संविधानसभामा तोडफोड गरेको दिन, माघ ५ को संयोग कस्तो परेको छ भने आजभन्दा झण्डै ९७ बर्ष अघि सन् १९१७ जवबरी १९ तारिखमा रुसमा संविधानसभा बिघठन भएको थियो । ठ्याक्कै त्यही समयमा नेपालको संविधानसभामा त्यस्तै प्रवृत्ति देखा प-र्यो । माघ ५ मा संविधानसभा बैठकमा तोडफोड हुनुपूर्व वरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टराईले झण्डै एकघण्टा लामो ‘रणनीतिक’ भाषण गरेका थिए । राजनीतिक संवाद समितिको प्रतिवेदनमाथी उठेका प्रश्नको जवाफ दिने क्रममा डा. भट्टराइले संविधानसभा दुई कित्तामा विभाजन हुने खतरा जनाएका थिए । उनले कोतपर्व र महाभारतको प्रसंग कोट्याउदै संविधानसभामा केही अप्रिय घटना हुँदैछ भनेर छनक दिएका थिए । संविधानसभा बैठकमा बोल्नु भन्दा पहिले ट्वीटरमा सन्देश लेख्दै भट्टराईले सत्तापक्षको दम्भका कारण द्धन्द्धकोस्थिती श्रृजना हुनुलाई ‘विनासकाले विपरित बुद्धि’ भनेका थिए ।

संविधानसभामा सोमबार भएको तोडफोडपछि मध्यरातदेखी नै सामाजिक सञ्जालमा एमाओवादी र त्यसमाथी पनि नेता भट्टराईमाथी सर्वसाधारणको आक्रोश पोखिएको छ । सर्वसाधारणले एमाओवादी सभासद्लाइ बाँदरको संज्ञा दिएको विरोधमा डा. भट्टराईले ट्वीटरमा अर्को सन्देश लेखेका छन, ‘सुकिला÷सभ्रान्त धनी मात्रै सभ्य मान्छे तर धुस्रा फुस्रा श्रमिक गरिब चाही असभ्य बाँदर ठान्ने सामान्तयुगीन चिन्तन बोक्नेलाइ सभ्य भन्न सकिएला ?’

संविधानसभा : एक वर्षमा सम्पन्न भएका काम

  • संविधानसभा कार्यसञ्चालन नियमावली पारित
  • संविधान लेखन कार्यतालिका पारित
  • संविधानसभाका समितिका सभापति चयन
  • तत्कालिन संविधानसभाले तयार गरेका दस्ताबेज अध्ययन गरी संविधान सभामा प्रतिवेदन पेश
  • संविधान अभिलेख अध्ययन तथा निक्यौल समितिको प्रतिवेदनमाथी सैद्धान्तिक छलफल
  • सहमति भएका बिषय संविधान मस्यौदा समिति र असहमतिका बिषय संवाद समितिमा
  • संविधान सभाबाट सहमति भएका बिषयको मस्यौदा निर्माण

संविधान सभाको बाँकी काम

  • संविधानको मस्यौदा तयार गर्ने
  • संविधानको पहिलो मस्यौदालाइ अन्तिम रुप दिई जनताको राँय प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गर्ने
  • संविधानको पहिलो मस्यौदामाथी जनताको राँय सुझाव लिने
  • जनताको राय सुझाव सम्बन्धी बिस्तृत प्रतिवेदन तयार गरी पूर्णबैठकमा छलफल गर्ने
  • संविधानको बिधेयक तयार गर्ने र सदस्यलाइ संशोधन राख्न दिने
  • संशोधन प्रस्ताव सहित संविधान बिधेयकमाथी संविधान सभामा छलफल गर्ने
  • संविधानका धारा प्रस्तावना र नाम सहित सम्पूर्ण भाग पारित गर्ने
  • संविधान बिधेयकमा सबै सदस्यले हस्ताक्षर गर्ने अध्यक्षले प्रमाणिकरण गर्ने
  •  राष्ट्रपतिद्वारा संविधानको प्रतिमा हस्ताक्षर गरि जारी गर्ने

संसदीय व्यबस्था भएका विश्वका कयौ मुलुकमा संसद भित्र सत्तारुढ र विपक्षी सांसदहरुबीच कुटाकुट हुनु कुनै नौलो र आश्चर्यको बिषय होइन् । नेपालमा पनि भएका छन, यीनै माओवादीले माधव नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न संसदको रोष्टममा चढ्दै गर्दा ब्रिफकेस खोसेका थिए ।

बजेटको ब्रिफकेस लुटेको र कानूनसरह लागू हुने आर्थिक बिधेयक च्यातेको भन्दै माओवादीको आलोचना अहिले भन्दा बढि भएको थियो । पाँच वर्षअघि भएको घटना र अहिलेको घटना नितान्त फरक हुन् । संविधानसभाको सार्बभौमिकता संसद भन्दा कति हो कति माथी छ । बजेटमा आफ्ना कार्यक्रम नपरेको झोकमा आक्रोश पोख्नु बेग्लै कुरा हो ।

तर, सत्तापक्ष र प्रतिपक्ष भन्ने नै नहुने संविधान सभा जस्तो गरिमामय ठाऊँमा सोमबार भएको माओवादीको बितण्डा लाजमर्दो विषय हो । संविधानसभामा कुर्सी भाचेर क्रान्तिकारीता देखाउनु भन्दा बैठक बहिस्कार गरेको भए एमाओवादीको राजनीतिक जित हुन्थ्र्यो । एमाओवादी अध्यक्ष प्रचण्ड र नेता भट्टराईले भविष्यमा कुनै दिन स्वीकार गर्नेछन्, संविधानसभामा हुलहुज्जत गर्नु हाम्रो गम्भीर भूल थियो, जसरी रुक्माङगत कटवाल प्रकरणको वर्षौपछि आत्मालोचना गरिरहेका छन् ।

एमाओवादीले किनपनि संविधानसभामा त्यस्तो उच्ऋङखल व्यबहार देखाउनु हुदैन थियो भने, उनीहरुले संविधान सभाको जननी आफूलाइ ठान्छन् । सोमबारको भाषणमा पनि भट्टराईले संविधान सभा आफूहरुको एजेण्डा थियो भन्ने पुष्टि गर्न कयौ उदाहरण पेश गरेका थिए । आफैले जन्माएको शिशु (संविधानसभा)माथी आफ्नै कार्यकर्ताले आक्रमण गरिरहदा प्रचण्ड–बाबुरामको अनुहारमा मुस्कान देख्नेहरुका लागि पीडाबोध हुन्थ्र्यो ।

नेपालको संविधानसभा फाटेको दूध जस्तो भइसकेको छ । सहमतिका नाममा भइरहेका प्रयास केबल ‘मोही मथेर नौनी’ निकाल्ने प्रयत्न जस्तै भएका छन् । संविधानसभा आफ्नो ट्रयाक भन्दा बाहिर गइसकेको छ । सहमतिका नाममा बर्षौ छलफल गरेपनि अब संविधानसभाबाट सहमतिको संविधान जारी गर्ने संभावना क्षीण भइसकेको छ । यसको अर्थ एकीकृत माओवादी र मधेशवादी दलको सहभागिता बिना जारि गरिने संविधान टिकाउ हुने छैन् । माओवादी संख्या मात्र होइन, त्यो प्रबृत्ति हो ।

माओवादीलाई निषेध गरेर जान सक्ने अबस्था काग्रेस एमालेसँग छैन् । त्यसो गर्नु गम्भीर भूल हुनेछ । सोमबारको पत्रकार सम्मेलनमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले अब संविधानसभा भित्रमात्र सहमति गरेर नपुग्ने भन्दै मोहन बैद्यको भाषा बोलेका थिए । सोमबार संविधानसभा बैठकमा उग्र रुपमा प्रस्तुत भएका जनार्दन शर्माले त झन आइतबारको संविधानसभाको बैठकमा विप्लवसंग शरण लिन जानु पर्ने अबस्था आउने बताएका थिए र, एमाओवादी पनि संविधानसभाबाट अलग्गिने अवस्था छैन् ।

कयौ अन्यौल र आशंकाबिच खिलराज रेग्मी नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन गराएर ‘डिरेल’ भएको लोकतान्त्रिक प्रक्रियालाई ‘ट्रयाक’मा ल्याइदिएको थियो । असहज परिस्थितीमा सहज ढंगले भएको निर्वाचनले नेपाललाई सही मार्गमा लैजाने धेरैको अपेक्षा थियो । चुनावका प्रारम्भिक नजीता सार्बजानिक भएको दिन देखी नै माओवादीले संविधानसभाको यात्रालाई असहज बनाउने छनक दिएको थियोे । संविधान सभाको सुरुवाती दिनमा एकीकृत माओवादीले चुनावमा धाधली भएको बाहानामा संविधान सभामा भाग नलिने भनेर हस्तौ तमासा देखायो ।

चुनावमा भएको लज्जास्पद पराजयको ढाकछोप र कार्यकर्तामाझ पार्टीलाई क्रान्तिकारी देखाउन एमाओवादीले संविधानसभामा सहभागि नहुने सम्मको घुर्की दियो । नजाँनिदो पाराले ‘संसदीय भास’मा डुबिसकेको एमाओवादीलाई संविधानसभा भन्दा बाहिर जाने कुनै ठाउँ थिएन् । केही दिनमै माओवादीले चुनावमा पराजय व्यहोरेका नेताद्धय बर्षमान पुन र रामचन्द्र झा सदस्य रहेको निर्वाचन छानबिन समिति गठन गर्यो । संविधानसभामा पुगेपछि माओवादी यति भलाद्मी प्रतिपक्ष बन्र्यो कि, राप्रपा नेपालका कमल थापाको नेतृत्वमा संसद अवरुद्ध गर्नुपर्ने अवस्थामा पुग्र्यो ।

माघ ५ को मध्यरातमा संविधानसभा बैठकमा नहुनु पर्ने घटना भयो, तर यसैलाइ बाहाना बनाएर संविधानसभाबाट संविधान जारी गर्ने जनताको आकांक्षामा तुसारापात गर्ने अधिकार कसैलाई छैन । संविधानसभा निर्वाचनमा व्यहोरेको ‘अनपेक्षित’ पराजयका कारण एमाओवादीलाई कार्यकर्तामाझ क्रान्तिकारी देखिनु थियो, त्यसैको प्रतिफल संविधानसभा बैठकमा प्रकट भएको हो । एमाओवादीका कतिपय कार्यकर्तामा युद्धको धङधङी बाकी नै छ, जनयुद्धका क्रममा उठाएका एउटै पनि कुरा लागू नहुँदा उनीहरुमा आक्रोश छ ।

संविधानसभामा भएको तोडफोड र आक्रमणका एमाओवादी भित्रको अन्तरविरोध लगायत बहुआयामिक कारण छन् । संविधानसभा बैठकमा भएको अप्रिय घटनालाइ चर्काउने भन्दापनि काँग्रेस, एमाले लगायतका दलले एमाओवादीलाई विश्वासमा लिएर अघि बढ्नु हितकर हुनेछ । यसो भएमा ८ माघमा संभव नभएपनि १५ जेठ अर्थात गणतन्त्र दिवसमा भएपनि संविधान जारी गर्न सकिने छ ।

– yespanta25@gmail.com


  •  
  •  
  •