संविधानसभामा भएको तोडफोडको अनुसन्धान गर्न छानविन समिति गठन

116
  •  
  •  
  •  

काठमाडौ, ७ माघ(ओएनएस) : एमाओवादी लागयतका विपक्षी सभासदहरुले सोमबार राति संविधानसभाको बैठकमा कुर्सि, माइक लगायत तोडफोडको छानविन गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

सोमबार राति संविधानसभाको बैठकमा कुर्सि, माइक लगायत तोडफोड गर्दा ३० लाख बराबरको क्षति भएको संसद सचिवालयले जनाएको छ । आक्रमण र तोडफोडमा दर्जनौं कुर्सी भाँचिएका थिए । माइक तोडफोड गरिएको छ । दुइ वटा माइक हराएका छन् ।

यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एमाओवादी सभासदहरु रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो ।

एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्ने क्रममा कुर्सिहरु तोडफोड गरेका थिए ।

यस्तै माइक भाँच्दै नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि माइकले आक्रमण गरेका थिए ।


  •  
  •  
  •