संविधानसभाले संवाद समितिको प्रतिवेदन फिर्ता पठायो

116
  •  
  •  
  •  

काठमाडौं, २४ पुस (ओएनएस)  : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवदेन सहमतिको लागि फेरि समितिलाई नै फिर्ता पठाइएको छ ।

बिहिबार संविधानसभामा प्रतिवेदनमाथि छलफल सकिएपछि सहमतिको लागि प्रतिवदेन फिर्ता पठाइएको हो । संवाद समितिलाई सहमति गरि आगामी पुस २९ गते प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्नको लागि समय दिइएको हो ।

प्रतिवदेन पठाउने उक्त निर्णयको राप्रपा नेपाल बाहेक सबै दलले समर्थन गरेका छन् । बिहिबारको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले तोकिएको मितिमा सहमति नभएको प्रक्रियाको अधारमा संविधान लेखन प्रक्रिया अघि बढ्ने बताए ।

संविधानसभाको बैठक बस्नुअघि विवादित विषयलाई सर्तसहित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः पठाउने बारेमा प्रमुख तीन दल सहमत भएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीको बैठकले सहमति नभए प्रक्रियामा जाने कुरालाई सुनिश्चित गरेर संवाद समितिमा विवादित अन्तरवस्तुलाई पुनः लैजान सकिने निष्कर्ष निकालेका थिए ।

तीन दलको बैठकपछि संवाद समितिका सभापति तथा एमाओवादीका नेता डा बाबुराम भट्टराईले “विवादित विषयमा छलफल तथा सहमति गर्न संवाद समिति संविधानसभाको एकमात्र आधिकारिक थलो हो र संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलका प्रमुख नेताहरु सदस्य रहेको यस समितिमा उहाँहरुले सहमति नगर्ने भए अन्तरवस्तुलाई पठाएर मात्र केही हुँदैन ।” भनेका थिए ।

संविधान जारी गर्न तोकिएको मिति माघ ८ आउनै लाग्दा दलहरुबीच विवाद बढ्दे गएको छ । सत्तारूढ काँग्रेस एमाले र एमाओवादी सहितको नेतृत्वमा मधेसी मोर्चाबीच विवाद बढ्दा संविधान आउने संभावना कमजोर बन्दै गएको छ ।
राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । यी विषयमा दलहरुबीच पटक–पटक वार्ता भएपनि निकास निस्कन सकेको छैन ।


  •  
  •  
  •