संवाद समितिको प्रतिवेदन अनुसार संविधानसभाको कार्यतालिका परिवर्तन हुने

314
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर (ओएनएस) : संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पठाउने प्रतिवेदनको आधारमा संबिधानसभाको कार्यतालिका परिवर्तन गर्ने तयारी संसद सचिवालयले गरिरहेको छ ।

सचिवालयका सहायक–प्रवक्ता सुदर्सन कुइकेलका अनुसार संवाद समितिको प्रतिवेदनको आधारमा कार्यतालिका परिवर्तन गर्न सहज हुने भएकाले त्यहि अनुसार तयारी भैरहेको छ । प्रवक्ता कुइकेलले कार्यतालिका बनाउदा यसअघि तोकिएको भन्दा कम समयमा संविधान निर्माणका प्रक्रियाहरु पूरा गर्ने तयारी सचिवालयले गरिरहेको बताए ।
‘अहिलेसम्म संविधानको पहिलो मस्यौंदा तयार भएर जनताको हात–हातमा पुग्नपर्ने हो । ’ कुइकेलले भने ‘तर संवाद समितिबाट प्रतिवेदन संविधानसभामा आउन नसक्दा सबै कार्यतालिका प्रभावित भएका छन् । ’

संविधान सभाको कार्यतालिका अनुसार कात्तिक १६ सम्ममा संवाद समितिले संबिधानसभामा प्रतिवदेश पठाइ सक्नुपथ्र्याे । तर समितिले भोलि शुक्रबार प्रतिवेदन संविधानसभामा पठाउने तयारी समितिका सभापति डा. बाबुराम भट्टराईले गरिरहेका छन् । एक महिनासम्मको विवादपछि प्रमुख चार दलका शीर्ष नेताको बैठकले भट्टाराईलाई स्वविवेक प्रयोग गर्र्दै प्रतिवेदन पठाउन अधिकार दिएपछि बल्ल प्रविसंबिधानसभामा प्रतिवेदन जान लागेको हो । उक्त सहमतिपछि संविधान निर्माण प्रक्रियाको बाटो खुलेपनि कार्यतालिका भने नराम्ररी प्रभावित हुने निश्चित छ ।

‘मस्यौदा समितिले कम्तिमा १ महिनाको समय माग गरेको छ, तर माघ ८ मै संविधान जारी गर्न तोकिएका कार्य तालिकाको समय घाट्ने निश्चित छ । ’ सह–प्रवक्ता कुइकेलले भने ‘ जनताको सुझाव लिने सयम केवल १ हप्ताको लागि निर्धारण गर्ने तयारी छ ।’

संबिधानसभाको कार्यतालिका अनुसार कात्तिक मसान्तसम्ममा संबिधानको पहिलो मस्यौदा तयार भई जनताबाट राँय तथा सुझाव संकलन भैसक्नु पर्ने थियो । यस्तै मंसिर मसान्तसम्ममा सभासदहरुले आफ्नो निर्वाचन क्षेत्रमा गई संकलन गरेका जनताका सुझावलाई प्रतिवेदन बनाएर संबिधान सभामा पेश गर्नु पर्ने तालिका थियो । तर अहिलेसम्म दलहरुबीच राज्यको पुन संरचना, शासकीय स्वरुप, न्यायप्रणाली लगायतका बिषयमा सहमति हुन नसक्दा संबिधानको पहिलो मस्यौदा पनि बन्न सकेको छैन ।


  •  
  •  
  •