११ विषयमा सहमति कायम  

105
  •  
  •  
  •  

        काठमाडौँ, ५ साउन (ओएनएस)  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संक्रमणकालीन व्यवस्थापन कसरी गर्ने भन्ने विषयसँग सम्बन्धित ११ वटा विषयमा सोमवार सहमति कायम गरेको छ ।

तत्कालीन संविधानसभाको संवैधानिक समितिले सहमति कायम गरिसकेका ४८ विषयमा केन्द्रित रहेर सोमवार भएको छलफलमा ११ वटा विषयमा दलहरूबीच सहमति बनेको हो ।

समितिका सभापति डा. बाबुराम भट्टराईका अनुसार  निर्वाचन प्रणाली कस्तो अपनाउने भन्ने विषय राज्यको पुनःसंरचना समितिमार्फत टुंगो लगाउने सहमति भएको  छ ।प्रस्तावित नयाँ संविधानमा बाधा अड्काउ फुकाउने अधिकार सङ्क्रमणकालीन भागअन्तर्गत राख्ने तथा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्र प्रमुखले आदेश जारी गर्न सक्ने व्यवस्था गरिनुपर्छ भन्नेमा दलहरूबीच सहमति कायम भएको छ । सहमति भएका विषयालाई एक महिनाभित्र संविधानसभाबाट अनुमोदन गराइने भएको छ ।

देशको संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथा प्रदेश व्यवस्थापिकाको नाम प्रदेशसभा राख्नु मनासिव हुनेमा पनि दलहरूबीच एकमत भएको थियो ।

बर्तमान  राष्ट्रपति र उपराष्ट्रपति अर्काे संविधान जारी नभएसम्मका लागि वा अर्काे व्यवस्था नभएसम्मका लागि कायम रहने भएपनि कुनै कारणले रिक्त हुन आएमा तत्काल कायम रहेको व्यवस्थापिका–संसद्बाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्छ भन्नेमा पनि बैठकमा दलहरूबीच सहमति भएको छ ।

        वर्तमान मन्त्रिपरिषद् वा संवैधानिक निकाय नयाँ संविधान जारी भएर अर्काे व्यवस्था नभएसम्मका  कायम रहने विषयमा पनि सहमति भएको छ ।

नयाँ संविधान जारी भएपछि बाझिएका कानुन त स्वतः खारेज हुन्छ नै तर त्यो कति अवधिभित्र स्वतः खारेज हुन्छ त भन्ने विषयमा दलहरूले एक वर्षको समयसीमा तोक्नु व्यावहारिक हुने मत राख्नुभएकामा बैठकले त्यसलाई स्वीकृति दिएको थियो ।

त्यस अवधिमा अन्य आवश्यक कानुन बनाएर त्यसलाई प्रतिस्थापन गर्न आवश्यक हुने भएकाले कम्तीमा एक वर्षको समयसीमा आवश्यक पर्नेमा दलहरुबीच सहमति भएको छ ।

सहमति भएका विषय समितिले संविधानसभामा पठाउने र संविधानसभाको पूर्ण बैठकमा छलफल गरेर त्यो विषय मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने व्यवस्था मिलाइएको छ ।


  •  
  •  
  •