संवाद समितिले सहमतिका लागि आज अन्तिम प्रयास गर्ने

82
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) भावी संविधानका बिबादित बुँदाहरुमा सहमति जुटाउने जिम्मेवारी पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आज अन्तिम पटक सहमतिको प्रयास गर्ने भएको छ । सहमति गर्ने बारेमा छलफल गर्न राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्दै छन् ।

सिंहदरबारमा बिहान प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ भने दिउँसो १ बजे समितिको बैठक बस्नेछ । दुबै बैठकमा राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय प्राणाली लगायतका बिषयमा छलफल हुने छ । गएको भदौ २१ गते भित्र सहमति गर्ने जिम्मा पाएको समितिले बिबादित बुदामा सहमति जुटाउन नसकेपछि असोज २ गतेको संविधानसभाले फेरि १२ दिनको समय दिएको थियो ।

तर यस अवधिमा छलफल भए पनि कुनै सहमति हुन सकेन । हिजोको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सभापति भट्टराईले आठ, नौं वा दस प्रदेशमा सहमति गर्नुपर्ने प्रस्ताव पेस गर्नु भएको थियो । आजको दुबै बैठकमा भट्टराईको प्रस्तावको बारेमा कुराकानी हुने भए पनि नेपाली काङ्ग्रेस र एमालेले उहाँको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

आजसम्ममा कुनै सहमति नभए यही २१ गतेभित्र विवादित विषय मतदानबाट टुङ्गो लगाउन प्रश्नावली बनाएर संविधानसभा पेस गर्न पनि समितिलाई संविधानसभाले निर्देशन दिइसकेको छ ।


  •  
  •  
  •