काठमाडौं, २६ जेठ ( ओएनएस) । नयाँ संविधानको मस्यौदामा विदेशमा रहेका नेपालीले आफ्नो राय दिनसक्ने भएका छन् । यसका लागि संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले इमेल, फोन तथा पत्राचारको आवश्यक व्यवस्था गर्न लागेको छ ।
अघिल्लो संविधानसभाले पनि विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई संविधानका बारेमा आआफ्ना रायसुझाव दिन सक्ने व्यवस्था मिलाएको थियो । समितिअन्तर्गतको आन्तरिक कार्यविधि र कार्ययोजना मस्यौदा उपसमितिको आजको बैठकले संविधान मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको राय सुझाव सङ्कलन गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा श्रम सहचारीसँग समन्वय गर्न निर्णयसमेत गरेको छ ।
नेपाली कूटनीतिक नियोग तथा श्रम सहचारीसँग समन्वय गर्ने विषयमा उपसमितिको बैठकमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिले आवश्यक रायसुझाव दिएका छन् । बैठकमा श्रम मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ र उपसचिव बुद्धिनाथ भट्टराईले विदेशमा रहेका नेपालीले नयाँ संविधानका बारेमा दिने रायसुझाव सकंलन गर्न मन्त्रालयले समन्वय गर्ने जानकारी दिए ।
वैदेशिक रोजगारीलाई अझ व्यवस्थित गर्न मन्त्रालयको नयाँ कार्यनीतिका विषयमा सभासदको जिज्ञासामा उनीहरुले श्रम ऐन र नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिए । परराष्ट्र मन्त्रालयका उपसचिव विष्णुप्रसाद गौतमले संविधानको मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको रायसुझाव संकलन गर्न मन्त्रालय तयार रहेको जानकारी दिए ।