काठमाडौं २६ साउन (ओएनएस) :
अभिनेत्री श्वेता खड्काले पक्कै सोचेकी थिइनन् आफूलाई ‘बाईबाई’ गरेर होटेल पठाएका पति श्रीकृष्ण श्रेष्ठले सधैंका लागि छोडेर जालान् भनेर। तर भाग्यको खेल भइदियो त्यस्तै। एक महिनाअघि मात्र विवाह गरेकी पत्नी श्वेतालाई शनिबार राति हात हल्लाएर बिदा गरेका अभिनेता श्रीकृष्णका हात अब कहिल्यै उठ्ने छैनन्।
नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा आफूसँगै रहेकी पत्नीलाई होटेल पठाएको केही समयमै श्रीकृष्णले जीवनको अन्तिम श्वास लिए। शनिबार राति साढे ११ बजे उनको निधन भएको हो। अस्पतालमा श्रीकृष्णको निधन हुँदा दाजु मीनकृष्ण साथमा थिए।
साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो। तर आईसीयूमा जानुअघि नै उनले प्राण त्यागे। ‘दैवको लीला यी सबै अचानक भयो’, भावुक हुँदै मीनकृष्णले भने, ‘भाइले यति चाँडै हामीलाई छोडेर जाला भन्ने कल्पना पनि गरेका थिएनौं।’
मीनकृष्णका अनुसार दाजुभाइ हात समाएर गफ गरिरहेका थिए। ‘मसँग हात मिलाइरहेकै बेला भाइले छोडेर गयो’, उनले भने। गत असार २३ गते विवाह गरेका श्रीकृष्ण र श्वेता हनिमुन मनाउन भारतको सिमला गएका थिए।
हनिमुनका क्रममा अस्वस्थ भएपछि उनलाई साउन १ गते नयाँदिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनलाई जटिल किसिमको निमोनिया देखिएको थियो। निमोनियाबाहेक अन्य रोग नभएको चिकित्सकले बताएको जानकारी मीनकृष्णले दिए।
श्रीकृष्णको पार्थिव शरीर सोमबार काठमाडौं लगी दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। पार्थिव शरीर आइतबार नै काठमाडौं लगिने भनिए पनि भारतमा सार्वजनिक बिदा भएका कारण कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले सम्भव नभएको हो।
अन्न्पूर्णपोष्टबाट