गुरुयोजना बन्न नसक्दा खेर जान्छ लाखौं रुपैया

279
  •  
  •  
  •  

चन्द्रकान्त खनाल , रुपन्देही , मंसिर १८ :  औद्योगिक ब्यापार मेलाहरु आयोजनाका लागि प्राप्त भएको बुटवल मण्डप जग्गामा गुरुयोजना बन्न नसक्दा प्रत्येक वर्ष लाखौ रुपैया खेर गैरहेको छ । जग्गामा रहेको अस्थायी संरचनामा बर्षेनी लाखौ खर्च हुदा रकम खेर गएको हो ।

मेला महोत्सवका लागि बुटवलमा स्थायी जग्गा अभाव खड्केपछि उद्योगी व्यवसायीहरुको लामो प्रयासपछि बुटवल–१२ रामनगर स्थित राष्ट्रिय वनको १६ विगाह क्षेत्रफल सरकारले बुटवल नगरपालिकालाई २०६३ सालमा भोगाधिकार प्रदान गरेको थियो ।

प्रर्दशनीलाई जग्गा प्राप्ति भएपनि त्यसको सही उपयोगका लागि गुरुयोजना बन्न नसक्दा मेलाका लागि अस्थायी भौतिक संरचनाहरु बनाउन र भत्काउनमा हरेक वर्ष कम्तीमा ५० लाख रुपैयां खर्च हुने गरेको छ । यस वर्ष रुपन्देही उद्योग संघले गर्न लागेको राष्ट्रिय औद्योगिक प्रर्दशनीमा कम्तीमा ७० लाख रुपैया अस्थायी संरचनामा खर्च हुने भएको छ ।

बुटवल मण्डपमा रुपन्देही उद्योग संघ,बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही ब्यापार संघले पालैपालो हरेक वर्ष औद्योगिक प्रर्दशनी तथा ब्यापार मेला आयोजना गर्दै आएका छन् ।
दुइ साता पनि नचल्ने मेलालाई आकर्षक र व्यवस्थित बनाउन लागि प्रवेशद्वार, स्टेज, सचिवालय, स्टल, टिकट काउन्टर, शौचालय, सरसफाई आदि संरचना बनाउन र पछि सबै संरचना भत्काउने काममा ५० लाख रुपैया भन्दा पनि बढी रकम खर्च हुने गरेको छ ।
जग्गा प्राप्तिपछि २०६४ सालदेखि यो वर्ष समेत गरी प्रत्येक वर्ष गरिएका मेलामा अस्थायी संरचनाहरु बनाउन र भत्काउनमा मात्रै करोडौं रुपैयां खर्च भएको छ । जग्गा प्राप्त गरेको दशक पुग्न लाग्दा पनि प्रदर्शनीस्थलको गुरुयोजना बनाउनेतर्फ नगरपालिकाले चासो नदिंदा ठूलो रकम अनुत्पादकरुपमा खेर गैरहेको निजी क्षेत्रको गुनासो छ । बुटवल मण्डपको जग्गाको उचित व्यवस्थापन गर्ने भन्दै ‘बुटवल मण्डप व्यवस्थापन समिति’ गठन भएपनि अहिले त्यो समिति निष्कृय छ ।
समितिमा बुटवल नगरपालिका अध्यक्ष छ भने बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही ब्यापार संघ लगायतका संस्थाहरु सदस्य छन् । मेला आयोजना गर्ने संस्थाहरुले प्रति टिकटको केही रकम बुटवल नगरपालिकालाई बुझाउदै पनि आएका छन् ।

Jagga 2

जग्गाको उपभोग गर्ने अधिकार बुटवल नगरपालिकाको भएकाले नगरपालिकाले सरोकारवालासंग मिलेर प्रदर्शनीस्थल गुरुयोजना बनाउनुपर्नेमा रुपन्देही उद्योग संघका उपाध्यक्ष गणेश अधिकारी ले बताए । गुरुयोजना बनाएर स्थायी प्रदर्शनी स्थलका लागि संरचनाहरु निर्माण गर्ने हो भने वर्षेनी हुने लाखौं खर्च जोगिने अधिकारीले भने ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मी अस्थायी संरचनामा वर्षेनी लाखारकमं खेर गएको अवस्थामा स्थायी संरचना बनाउन पटक पटक सरकारी निकायको ध्यानाकर्षण गराउदा पनि ध्यान नपुगेको गुनासो गर्छन ।
यस पटक स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं, भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा यही पौष ७ देखि २१ गतेसम्म बुटवलमा संचालन हुने तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव २०७१ को तयारी तीव्र भइरहेको आयोजकले बताएका छन । प्रदशनीमा ५ सय स्टल रहने बताइएको छ । कृषि, हस्तकला, आइ टी, बैंक, कन्सलटेन्सी, होटेल , विभिन्न औद्योगिक प्रतिष्ठानलगायतका स्टल रहने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष बोननि पीयाले बताए ।


  •  
  •  
  •