प्रदर्शनीबाट नुवाकोट र लुम्बिनी भ्रमण

231
  •  
  •  
  •  

रुपन्देही , १० पुस (ओएनएस) :  बुटवलमा जारी तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवमा बिहिबार पर्यटन प्रवद्र्धनका लागि टुर प्याकेज कार्यक्रम सुरु गरिएको छ ।

यस क्षेत्रमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेकाले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटकीय स्थलहरुको प्रचार÷प्रसार गर्न टुर प्याकेज कार्यक्रम समावेश गरिएको संघका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । टुर प्याकेज कार्यक्रम अन्तर्गत बिहिबार बुटवल–नुवाकोट भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
भ्रमणको बुटवल मण्डपमा रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया र प्रदर्शनी अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमिति संयोजक उपेन्द्र अग्रवालले उद्घाटन गर्नु भएको हो ।

बुटवलबाट नजिकै पाल्पाको दोभान गाविसमा पर्ने नुवाकोट पर्यटकीय दृष्टिले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले प्रदर्शनी अवलोकन गर्न आउने आन्तरिक पर्यकहरुलाई लक्षित गरी भ्रमणको व्यवस्था मिलाइएको संघले जनाएको छ । प्रदर्शनी अवधिमै बुटवल लुम्बिनी भ्रमणको व्यवस्था पनि मिलाइएको छ ।
बुटवल नुवाकोटका लागि ७ सय ५० रुपैया र बुटवल लुम्बिनीका लागि १२ सय रुयैया कायम गरिएको प्रदर्शनी सचिवालयले जनाएको छ । टुर प्याकेज कार्यक्रममा सिद्धार्थ एशोसिएसन अफ ट्राभल्स एण्ड टुर्सले रुपन्देही उद्योग संघसंग सहकार्य गरेको छ ।

भ्रमणमा पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको टोलीले नुवाकोटको भ्रमण गरेको छ । पर्यटन प्रवद्र्धनकै लागि संघले प्रदर्शनी अवधिमै विज्ञहरुको उपस्थितिमा गोष्ठी समेत गर्ने कार्यक्रम तय गरेको गोष्ठी संयोजक रचना पन्त भट्टराईले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धनकै लागि प्रदर्शनीमा लुम्बिनी अञ्चलका पर्यटकीय तथा ऐतिहासिक धार्मिक र सांस्कृतिक स्थानहरुको फोटो प्रदर्शनी गरिएको छ भने पशुपतिनाथ मन्दिरको आकृतिमा प्रवेशद्वारा निर्माण गरिएको छ भने अशोक स्तम्भ र बुद्धको प्रतिमा पनि प्रदर्शनीमा राखिएको छ ।
यसैबीच प्रदर्शनी तथा महोत्सवमा राष्ट्रिय कलाकारहरु देवी घर्ती,रुपक डोटेल तथा हास्य कलाकार रोहित कार्की र सीता अधिकारीको प्रस्तुतिले दर्शकलाई मनोरन्जन प्रदान गरेको छ ।


  •  
  •  
  •