बुटवलको प्रदर्शनीमा २ लाख दर्शक,७ करोड बढीको कारोबार

432
  •  
  •  
  •  

रुपन्देही १५ पुस (ओएनएस) : रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघ काठमाडौंको आयोजनामा बुटवलमा जारी तेह्रँैं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको नवौं दिनसम्म २ लाख बढी दर्शक र ७ करोड बढीको आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् ।

स्वदेशी उत्पादन प्रयोग गरौं,राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौं नारासहित बुटवल मण्डपमा पुस ७ गते शुरु भएको प्रदर्शनी उत्तरार्धतिर पुग्न लाग्दा अवलोकनकर्ताहरुको भीड र स्टलहरुमा कारोबार पनि उल्लेख्यरुपमा बढ्दै गएको रुपन्देही उद्योग संघका कोषाध्यक्ष दिलिप सापकोटाले जानकारी दिए ।

‘नवौं दिनसम्म आइपुग्दा २ लाख भन्दा बढी दर्शक र ७ करोड भन्दा बढी आर्थिक कारोबार भएको अनुमान गरेका छौं’– कोषाध्यक्ष सापकोटाले भने–‘ दर्शकको उत्साहजनक उपस्थितिले लक्ष्य अनुसार दर्शक र कारोबार हुने देखिएको छ ।’

प्रदर्शनी अवलोकन गर्न सार्वजनिक विदाका दिनहरुमा अत्यधीक भीड लागेको र अन्य दिनहरुमा पनि उल्लेख्य संख्यामा दर्शकहरु रुपन्देही र छिमेकी जिल्लाहरुबाट आउने गरेको संघका अध्यक्ष बोनिन पियाले बताए ।

प्रदर्शनीमा औद्योगिक उत्पादन, घरेलु तथा कुटिर उद्योग, हस्तकला, सुचना प्रविधि, कृषिजन्य, छाला जुत्ता, गार्मेन्ट,होटल तथा रेष्टुरेन्ट लगायतका ५ सय स्टलमा छुट मुल्यमा सामान किन्न अवलोकनकर्ताको भीड लाग्ने गरेको संघका वरिष्ठ पाध्यक्ष दिनेशराज रेग्मीले बताए ।

यसैबीच ल्होसारको सार्वजनिक विदा परेकाले मंगलबार मात्रै ३० हजार भन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका प्रचार प्रसार संयोजक जीवकान्त काफ्लेले बताए ।

मंगलबार चर्चित लोकदोहोरी गायक राजु परियारले आफ्नो प्रस्तुतिमार्फत लोकसंगीतका पारखीलाई छमछमी नचाएका थिए । यस्तै हास्य कलाकार भद्रगोलका कक्रोच र बले, लोक गायिका अनुराधा घर्ती, जादुगर बलराम सरकार,प्रदर्शनी आइडलका ७ जना र आरसीआई ट्यालेन्ट हण्टका प्रतियोगीको प्रस्तुति रहेको थियो । यस्तै दोहोरी गीत प्रतियोगिता अन्तर्गत गुल्मी धुर्कोट रोधी क्लब र मिर्मिरे दोहोरी सांझबीच भएको प्रतिस्पर्धामा मिर्मिरे दोहोरी सांझ विजयी भएको छ ।

बुधलोकदोहोरी गायक कृष्ण देवकोटा,शिरिश देवकोटा,पुश्कल शर्मा,हरिमाया रायमाझी,प्रदर्शनी आइडलका अन्तिम ६ जना लगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र कार्कीले जानकारी दिए ।

यसैबीच तेह्रँैं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवमा बुधबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुदैछ । बुटवलमा पहिलोपटक आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस,त्रिभुवन आर्मी,सशष्त्र प्रहरी,पांच विकास क्षेत्र र त्रिभुवन विश्वविद्यालय गरी ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं रुपन्देही उद्योग संघका महासचिव विष्णुकुमार श्रेष्ठले बताए । प्रतियोगिता शुरु हुनु अघि बुटवल मण्डपबाट ¥याली समेत निकालिने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •