बुटवलमा हुने १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा

246
  •  
  •  
  •  

रुपन्देही, ४ पुस (ओएनएस) : रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा बुटवलमा आयोजना हुन लागेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि बुटवल १२ रामनगरस्थित बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुदै छ । प्रदर्शनीका लागि निर्माण गरिएको पशुपतिनाथ मन्दिर आकृतिको आकर्षक प्रवेशद्वार,स्टल,कृषि पेभेलियन,सुचना प्रविधि पेभेलियन,स्टेज आदि निर्माण कार्य पुरा भैसकेका प्रदर्शनी सचिवालयले जनाएको छ ।

यसैबीच संघले महोत्सव उद्घाटनको पुर्व सन्ध्यामा पुष ६ गते वृहत औद्योगिक जनचेतना ¥याली निकाल्ने भएको छ । महोत्सवमा सहभागी हुन कृषिजन्य, हस्तकला, ठूला औद्योगिक प्रतिष्ठान, गार्मेन्ट, खाद्यान्न,सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी, छाला जुत्ता चप्पल,फर्निचर,बेकरी, होटल तथा रेष्टुरां,हर्बल,प्लास्टिक,आयुर्वेद,सुचना केन्द्र, सामाजिक संघसंस्था र विविध गरी ५ सय स्टल दर्ता भैसकेका छन् ।

यसपटकको प्रदर्शनीमा कृषि पेभेलियन विशेष आकर्षक हुने आयोजकले जनाएका छन् । कृषि पेभेलियनमा पहाडी ग्रामीण वस्तीको झल्को दिने गरी पानी घट्टसहितको एउटा गाउंको आकृति, मगर समुदायको परम्परागत घर, आदि आकर्षक स्टलहरु सहभागी गराइएको छ ।

अवलोकनकर्ताको सहजताको लागि सहभागी स्टलहरुलाई उत्पादनको प्रकृति हेरेर छुट्टाछुट्टै पेभेलियनमा राख्ने गरी तयारीका काम पुरा गरिएको रुपन्देही उद्योग संघका अध्यक्ष एवं महोत्सवका संयोजक बोनिन पियाले बताए । ‘तयारीका सबै कामहरु ल्गभग पुरा भैसकेका छन्,अन्तिम रुप दिनुपर्ने र सजावट गर्नुपर्ने केही काम पनि शनिबारसम्म पुरा हुन्छ’–अध्यक्ष पियाले भने ।

महोत्सवको सहआयोजकमा घरेलु तथा साना उद्योग विभाग,ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र,जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिका तथा प्रवद्र्धकहरुमा उद्योग मन्त्रालय,कृषि तथा सहकारी मन्त्रालय नेपाल पर्यटन बोर्ड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रहेका छन् । महोत्सव अवधिमै आर्थिक, औद्योगिक,कृषि र पर्यटनका विषयमा विज्ञहरुको सहभागितामा गोष्ठी तथा सेमिनार समेत गरिने संघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए ।

१५ दिनसम्म चल्ने प्रदर्शनीमा ५ लाख बढी दर्शक र १५ करोड रुपैयां बढीको आर्थिक कारोबार हुने लक्ष्य लिएको उपाध्यक्ष गणेश अधिकारीले बताए । महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि बुटवल–लुम्बिनी र बुटवल–नुवाकोट टुर प्याकेजको व्यवस्था मिलाइएको छ भने लुम्बिनी अञ्चलका पर्यटकीय स्थलको फोटो प्रदर्शनी समेत गरिने संघका महासचिव विष्णुकुमार श्रेष्ठले बताए ।

महोत्सवमा अवलोकनकर्ताको मनोरन्जन र आकर्षणका लागि दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, लोक संस्कृतिमा आधारित गायन तथा नृत्य, दोहोरी गीत, प्रदर्शनी आइडल, आरसीआई ट्यालेन्ट हन्ट,राष्ट्रिय महिला भलिबल प्रतियोगिता समावेश गरिएको सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र कार्कीले बताए ।

प्रदर्शनीमा सहभागी उद्योगहरुमध्ये चारवटा उद्योग, हस्तकला, कृषि, सुचना प्रविधि,अटो, र स्टल सजावटमा एक एक वटा र रुपन्देही र जिल्ला बाहिरका एक एक जना उत्कृष्ट महिला उद्योगी छनोट गरी पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको महोत्सवका प्रचारप्रसार संयोजक जिवकान्त काफ्लेले जानकारी दिए ।


  •  
  •  
  •