‘स्वदेशी उद्योगको विकासमा सरकारी नीति बाधक’

156
  •  
  •  
  •  

रुपन्देही, १८ पुस (ओएनएस) रुपन्देहीका उद्योगी व्यवसायी र अर्थविद्हरुले स्वदेशी उद्योगको संरक्षण, सम्बद्र्धन र विकासमा राज्यका विद्यमान ऐन कानुन र नीति नियमहरु नै वाधक रहेको बताएका छन् । उनीहरुले देशको राष्ट्रिय अर्थतन्त्र दीगो र आत्मनिर्भर बनाउन स्वदेशी उद्योगको भुमिका महत्वपुर्ण हुने भएकाले उद्योगमैत्री समयसापेक्ष ऐन कानुन र नीति नियम बनाउनुपर्ने माग समेत गरेका छन् ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार बिचार गोष्ठीमा उद्योग व्यवसायसम्बन्धी विद्यमान कतिपय ऐन कानुनहरु अब्यवहारिक, झन्झटिला र लगानीमैत्री नभएकाले नेपालको औद्योगिक विकासले गुणात्मक फड्को मार्न नसकेको स्पष्ट पारे ।

उर्जा संकट, औद्योगिक क्षेत्र विस्तार हुन नसक्नु, भन्सार र कर नीति स्वदेशी उद्योगलाई संरक्षण गर्ने खाला नहुनु, खुला सिमानाबाट हुने अवैध आयात,ढुवानीमा सिण्डिकेट,चन्दा आतंक,दक्ष जनशक्ति अभाव, मजदुर संगठनहरुको युनियनबाजी जस्ता समस्याले स्वदेशी उद्योगहरु फस्टाउन नसकेको उनीहरुले औंल्याए ।

सरकारले उद्योगीहरुबाट कर मात्र लिने तर औद्योगिक विकासका पुर्वाधार निर्माणमा ज्यादै न्युन मात्रामा लगानी गर्ने गरेको, नयां औद्योगिक नीति आएपनि औद्योगिक ऐन बनाउन नसक्दा उद्योगमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्न नसकेको उद्योगीहरुको गुनासो छ ।

कार्यक्रममा रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष सतिश कशौधनले राज्यले अहिलेसम्म स्वदेशी उद्योगको संरक्षण, सम्बद्र्धन र विकासलाई प्राथमिकतामा राखेर स्पष्ट नीति र कार्यक्रम नबनाएकाले कैयौं उद्योगहरु धराशायीको अवस्थामा र कतिपय बन्द हुन पुगेको बताए । उनले औद्योगिक नीति बनेको ४ वर्ष पुग्न लाग्दासम्म ऐन आउन नसक्नु विडम्बना भएको बताए ।

गुणात्मक औद्योगिक विकासका लागि राज्यले उद्योगहरुको वर्गीकरण गरी उत्पादनमुलक,तुलनात्मक लाभ हुने र निर्यातजन्य उद्योगको विकासलाई मुख्य प्राथमिकता दिनुपर्नेमा कसौधनले जोड दिए ।
अर्थविद् एवं प्राध्यापक डा.बाबुराम ज्ञवालीले अहिलेको समय खुला अर्थतन्त्र र विश्वव्यापीकरणको भएकाले अन्तरराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्नसक्ने तथा उपभोक्ताको बदलिदो जीवनशैली र चाहना अनुसारका वस्तु उत्पादन गर्ने उद्योगमा लगानी गर्न सुझाव दिए ।

अर्का अर्थविद् डा. खगराज शर्माले समयसापेक्ष उद्योगमैत्री ऐन कानुन नहुदा स्वदेशी उद्योगको विकासमा वाधा पुगेको बताए । उनले राज्यले औद्योगिक विकासलाई प्राथमिकतामा नराख्दा राष्ट्रिय अर्थतन्त्रमा उत्पादनमुलक उद्योगको योगदान घट्दै गएको बताए ।

रुपन्देही ब्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्र विस्तार र नयां औद्योगिक कोरिडोर निर्माणलाई प्राथमिकतामा राखेर पुर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताए । उनले वातावरणीय प्रभाव मुल्याङकन ईआईए गरेर स्थापना भएका उद्योग आसपासमा राज्यले बस्ती बस्न दिन नहुने बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले उर्जा संकट र उद्योग स्थापनाका लागि जग्गा अभाव औद्यागिक विकासका मुख्य वाधक देखिएकाले लोडसेडिङ अन्त्य गर्न र औद्योगिक क्षेत्रहरु विस्तारका लागि उद्योगीहरुले राज्यलाई दवाव दिनुपर्ने सुझाव दिए । विचार गोष्ठीमा जगदम्बा सिमेन्टका जनरल म्यानेजर विदुर ढुंगानाले वातारणको विषय उठाएर अर्बौं लगानी भएका उद्योगलाई बन्द गराउनेसम्मका गतिविधि हुदा पनि राज्य मौन बस्ने गरेको गुनासो गरे ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष मेघराज भण्डारीले कृषि र पशुपालन उद्योगमा राज्यले प्रोत्साहनमुखी नीति ल्याउनुपर्ने माग गरे । रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले देशको आर्थिक समृद्धिका लागि औद्योगिकरण पहिलो शर्त भएकाले राज्यले औद्योगिक विकास र त्यसमा पनि स्वदेशी उद्योगको संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्ने आग्रह गरे । उनले सरकार र नीजि क्षेत्रको सहकार्य र समन्वयबाट मात्रै औद्योगिक विकासले गति लिने बताए ।

संघका आर्थिक सल्लाहकार एवं प्राध्यापक वैकुण्ठ पाण्डेले ‘राष्ट्रिय अर्थतन्त्रको विकासमा स्वदेशी उद्योगको भूमिका’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै राज्यको प्राथमिकतामा नपरेकाले राष्ट्रिय आम्दानीमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशत मात्रै रहेको उल्लेख गरे । आयात प्रतिस्थापन, बेरोजगारी घटाउन,सरकारी राजस्वमा योगदान पु¥याउन र समग्र राष्ट्रिय उत्पादन बढाउन राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको अवधारणापत्रमा उल्लेख छ ।

कार्यक्रममा तिलोत्तमा ब्यापार संघका अध्यक्ष जेपी कंडेल,सैनामैना ब्यापार संघका अध्यक्ष रामेश्वर शर्मा,सुर्य कार्की,यमलाल भट्टराई,दिनेश पाण्डे,दामोदर खनाल,भुपाल शर्मा लगायतले आआफ्ना धारणा राखेका थिए ।

संघकी सदस्य एवं गोष्ठी तथा सेमिनार उपसमिति संयोजक रचना पन्त भट्टराईले औद्योगिक विकासमा देखिएका समस्या पहिचान गर्न तथा अवसर र सम्भावनाको खोजी गर्ने उद्देश्यले औद्योगिक प्रदर्शनीका अवसरमा उद्योग र पर्यटन सम्बन्धी गोष्ठी आयोजना गरिएको बताइन् । कार्यक्रमको सञ्चालन संघका महासचिव विष्णुकुमार श्रेष्ठले गरेका थिए ।


  •  
  •  
  •