सेवा व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने

106
  •  
  •  
  •  

काठमाडौँ, १४ भदौ  : सेवा व्यापारको महत्व बढ्दै गएकाले यस क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नका लागि आवश्यक नीतिगत तथा अन्य प्राविधिक तयारी गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस)का विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा राजधानीमा आयोजित छलफलमा सहभागी मन्त्रालयका प्रतिनिधिहरूले सेवा व्यापारका क्षेत्रहरू शिक्षा, पर्यटन, स्वाथ्य, सूचना प्रविधि, श्रम, जलविद्युत् र इन्जिनियरिङ सेवाको क्षेत्रमा गुणात्मक परिवर्तन आवश्यक भएको बताएका हुन् ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले ‘नेपाल व्यापार एकीकृत रणनीति, २०१०’ मा सेवा व्यापारका सातवटा क्षेत्रलाई समेटेको उल्लेख गर्दै ती क्षेत्रलाई एकअर्कासँग समन्वय गरेर लैजानुपर्नेमा जोड दिए । उनले सेवा व्यापारलाई कानुनी तथा तथ्याङ्कगत रूपमा अध्यावधिक गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आन्तरिक क्षमता र अन्तर्राष्ट्रिय मागको क्षेत्र खोज्नुपर्ने बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले एनटिआइएसका १९ वटा क्षेत्रमध्ये सातवटा सेवा क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि एकअर्कासँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले विश्वमा ७० प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान पु¥याएको र ४५ प्रतिशत रोजगारी सिर्जना गरेको तर अति कम विकसित देशको हिस्सा अति नै न्यून रहेकाले त्यसलाई बढाउनुपर्नेमा जोड दिए ।


  •  
  •  
  •