बेरोजगार युवा विद्यार्थीलाई विनाधितो ऋण दिन माग

254
  •  
  •  
  •  

सुर्खेत, २७ चैत (ओएनएस) : राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले पश्चिम सुर्खेतका बेरोजगार युवा विद्यार्थीलाई विना धितो सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ । मञ्चले विद्यालय तथा विश्वविद्यालयका विभिन्न तह पुरा गरेका बेरोजगार युवालाई निशुल्क तालिम तथा व्यवसाय सञ्चालनका लागि विनाधितो ऋण दिन माग गरेको हो ।

पश्चिम सुर्खेतका धेरै युवाहरु एसएलसी परीक्षापछि गाउँमा काम नपाएर भारतमा कमाउन जाने गरेका छन् । उनीहरुलाई असुुरक्षित कामबाट बचाउन गाउँमै स्वउद्यमका लागि सरोकारवालाले विना धितो सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन मञ्चले माग गरेको हो ।

मञ्चले पश्चिम सुर्खेतमा कुनै पनि विकास कामको पहुँच पुग्न नसकेले तत्काल विकासका कामहरु शुरु गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले वैदेशीक रोजगारका क्रममा दुःख पाएर फर्किएका युवालाई क्षतिपूर्तिसहित देशमै जिविकोपार्जनको लागि सहुलियत ऋणको व्यवस्था गर्न माग गरेकी छिन् ।

उनले कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन राज्यले कृषिमा लगानी बढाउन जोड दिइन् । उनका अनुसार पश्चिम सुर्खेतको आत्मनिर्भर र दिगो अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण मुख्य आधार हो ।

‘सरकारको नीति, कार्यक्रम र बजेटमा कृषिलाई मुख्य प्राथमिकतामा राख्न र निजीक्षेत्रसँग सहकार्य बढाउनु पर्छ,’ उनले भनिन, ‘कृषिलाई निर्वाहमुखी नभई उद्योगका रुपमा अघि बढाउन सके मात्र त्यसबाट लाभ लिन सकिन्छ ।’

उनले पछिल्ला वर्षमा सरकारले जिल्लामा थुप्रै अनुदानका कार्यक्रम ल्याएपनि त्यो पश्चिमसम्म पुग्न नसकेको बताईन् ।


  •  
  •  
  •