काठमाडौं, ५ कात्तिक (ओएनएस) व्यवस्थापिका संसद अन्र्तगतको अर्थ समितिले सिंहदरवारभित्र रहेका बेवारिसे गाडीको विवरण ४५ दिन भित्र बुझाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले सिंहदरवारभित्रबाट सरकारी गाडी हराउने गरेको तथा गाडी सुविधा लिने व्यक्तिले नै गाडी भाडामा लिएको गुनासो आएको भन्दै सबै गाडीको विवरण बुझाउन तथा पुराना र सरकारी ४५ दिनभित्र समितिले निर्देशन दिएको हो ।
समितिले गाडी प्रक्रिया मिलाउन ऐन कानुन संशोधन गर्नसमेत निर्देशन दिएको छ । लिलाम, बिक्री, तथा हस्तान्तरण प्रक्रिया सरल गर्न सार्वजनिक खरिद ऐनलगायत अन्य ऐनमा आवश्यक संशोधन गर्न समितिले निर्देशन दिएको छ । समितिले सिंहदरवारभित्र रहेका पुराना तथा अन्य सरकारी गाडीहरु एकत्रित गरी डेढ महिनाभित्र लिलामी गरिसक्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले बताए ।
पुराना तथा काम नलाग्ने सरकारी गाडी प्रत्येक वर्ष अनिवार्य लिलामी गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । सिंहदरवार बाहिरका पुराना गाडीहरुको लगत निकाली यो आर्थिक वर्षभित्र लिलामी गरिसक्न समेत समितिले निर्देशन दिएको छ । सरकारी गाडीहरुको व्यापक दुरुपयोग भएको भन्दै समितिले अबदेखि सरकारी गाडी सुबिधा पाउने व्यक्तिकोे तीन तह कायम गर्नसमेत सुझाव दिएको छ ।
विशिष्ठ व्यक्तिहरुलाई गाडी, चालक र इन्धन सहित सबै सुबिधा दिने र दोस्रोे तहका सरकारी अधिकारीलाई गाडीमात्र दिएर चालक, इन्धन र मर्मतका लागि निश्चित रकम मापदण्ड बनाएर दिन समितिले निर्देशन दिएको छ ।