इन्धनको मूल्य घटे पनि गाडी भाडा नघट्ने

169
  •  
  •  
  •  

काठमाडौं १२ माघ ।
इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारी साधनको भाडा दर नघटने भएको छ । यातायात व्यवस्था विभागले तत्कालका लागि भाडा घटबढ केहि नहुने जनाएको छ । विभागका निर्देशक तथा प्रवक्ता बसन्त अधिकारीले सोमबार कान्तिपुरलाई अहिले वैज्ञानिक भाडा प्रणालीअनुसार सवारीसाधनको भाडा दर समायोजन गर्ने तयारी नभएको स्पष्ट पारे । दुई वर्षदेखि वृद्धि भएको बजार भाउलाई पनि आधार मान्नु पर्ने कारणले गर्दा समायोजन गर्दा सवारीसाधनको भाडा दर इन्धनको मूल्य घटे पनि अझ बढ्ने विभागको निचोड छ ।

नेपाल आयल निगमले माघ ४ मा पेट्रोल प्रतिलिटर ५ रूपैंयाँ, डिजेल र मटितेल ६/६ रुपैंयाँ घटाएको थियो । योसँगै अब पेट्रोल ९९ तथा डिजेल र मटितेल ७५ रुपैंयामा आएको छ । सरकारले अवलम्बन गर्दै आइरहेको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको मुल्य एक पटकमा ५ रूपैंयाभन्दा कम वा बढी भएमा भाडा दर नयाँ निर्धारण गर्ने भनिएको छ ।

प्रवक्ता अधिकारीले भने,’वैज्ञानिक भाडा प्रणाली अनुसार ३५ प्रतिशत इन्धन र बाँकि ६५ प्रतिशत सवारीसाधनका आवश्यक पर्ने विभिन्न पाटपुर्जा र मावनीय जनशक्तिको समेत समायोजन गरेर भाडा दर निर्धारण गर्ने भनिएको छ । २०६५ साल वैज्ञानिक भाडा प्रणालीलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थाले गरेको अनुसन्धानमा भाडाको वैज्ञानिक प्रणाली अपनाउदा इन्धनबाहेक चालक र सहचालकको तलब, कर, ग्यारेज, इस्योरेन्स, बनाउने खर्च, ब्याट्री, तेल, इन्धन र ब्याज दर आदिलाई आधार मानेर भाडा दर निर्धारण गर्ने भनिएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने,’इन्धनको मूल्य घटेरमत्र हुदैन, अन्य सामाग्रीका मुल्य त घटेका छैनन् ।’ उनले यातायात व्यवसायीहरूसँग छलफल गरेर भाडा घटाउने निर्णय गर्ने बताए ।

विभागले २०७२ भदौ २४ र माघ २६ मा पनि भाडा घटाएको थियो । तर दुवै पटक हामीले व्यवसायीलाई सम्झाएर इन्धनलाई लिएमात्र भाडा घटाएका थियौं ।’ उनले यस पटक गर्दा व्यवसायीले वैज्ञानिक भाडा प्रणाली अनुसार समायोजन गर्दा नियम अनुसार सबै कुराको समायोजन गरेर भाडा दुर कायम हुनु पर्ने अडान लिएका छन् । ‘अहिले सबैभन्दा छोटो रुटमा १३ रूपैंया छ, यदि इन्धनको मूल्य घटेकै आधारमा वैज्ञानिक भाडा प्रणालीलाई लागु गर्ने हो भने १३ को स्थानमा १५ रूपैंया हुन आउँछ । त्यसैले हामीले केहि समयका लागि भाडा दर समायोजन गर्न लागेका हौं,’ उनले भने ।

वैज्ञानिक भाडा प्रणालीमा ६५ प्रतिशत इन्धनभन्दा बाहेक बस्तु पर्छन् । विभागले दुई वर्ष यता भाडा समायोजन गर्दा इन्धनलाई मात्र आधार मानेर गर्दै आएको छ । अधिकारीले भने,’गत वर्ष ९ र यो वर्ष ११ प्रतिशत महंगी वृद्धि भएको छ । अहिले समायोजन गर्दा बृद्धि भएका बजार भाउलाई समेत समेट्नु पर्छ । समायोजन गर्दा भाडा दर अझ बढ्छ, त्यसैले तत्काललाई नगर्न लागेका हौं । विभागले यस अघि एक साता भित्रमै भाडा समायोजन गर्ने बताएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •