सरकारको नि:शुल्क यातायात, बिहान ११ देखि साढे २ बजेसम्म मात्र सेवा

227
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर ।
सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि नि:शुल्क रूपमा सञ्चालन गर्ने भएको छ । चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी तथा सर्वसाधारण बोक्ने कार्यमा समेत प्रयोग गर्न लागेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले चारवटा गाडी बिरामी तथा सर्वसाधारण बोक्न प्रयोग गरिने जानकारी दिए । प्रवक्ता पौडेलले जनताका लागि सञ्चालन गर्न लागिएको नि:शुल्क बस सेवाको सदुपयोग गर्न बिरामी तथा सर्वसाधारण जनतालाई आह्वान गरे । सामान्य प्रशासन मन्त्रालयका अनुसार सुरुमा चारवटा गाडी बिरामी बोक्न प्रयोग गरिने भएको छ ।

पछि यो संख्या बढाइने भएको छ । सामान्य प्रशासन मन्त्रालयका दुईवटा र गृह मन्त्रालयका दुईवटा बस सर्वसाधारणका लागि सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले नि:शुल्क सञ्चालन हुने बसहरूको रुटसमेत तय गरेको छ । मन्त्रालयका अनुसार पाटन अस्पताल र आसपास क्षेत्रमा जाने बिरामी, तिनका आफन्त तथा सर्वसाधारणका लागि सातदोबाटोबाट कोटेश्वर भक्तपुर क्यान्सर अस्पताल हँुदै पुन: पाटन अस्पतालको रुट तय गरिएको छ ।

यसैगरी, प्रसूतिगृह, वीर अस्पताल हँुदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म अर्को रुट तय गरिएको छ । सोही रुट हिँड्ने बस पुन: गंगालालवाट प्रसूतिगृह फर्कनेछ । त्यस्तै, अर्को बस सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हँुदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर सोही रुट हुँदै फर्कनेछ । चौथो गाडी निजामती अस्पतालबाट सहिदगेट हँुदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता पौडेलले सुरुमा चारवटा बस सञ्चालन गरिएको भए पनि यो संख्या बिस्तारै बढाइने बताए ।

‘थप व्यवस्थापन गरी बिरामी तथा सर्वसाधारणलाई अझै सेवासुविधा दिन बसहरूको संख्या छिट्टै बढाइनेछ,’ प्रवक्ता पौडेलले भने । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार केही मन्त्रालयका गाडीले विभिन्न समस्या देखाएर बिरामी तथा सर्वसाधारण बोक्न आनाकानी गरेपछि चारवटा बस मात्र सञ्चालन गरिने भएको हो । मन्त्रालयले एकीकृत पारवहन सेवाअन्तर्गत सञ्चालनमा आएका १२ र अन्य चारवटा गरी १६ वटा बस समय मिलाएर बिरामी बोक्ने कार्यमा प्रयोग गर्ने योजना बनाएको थियो ।

तर, पारवहन सेवाअन्तर्गत सञ्चालन भए पनि अन्य केही मन्त्रालय भने बिरामी बोक्ने कार्यमा उत्सुक नदेखिएपछि धेरै गाडी एकैचोटि सञ्चालनमा आउन नसकेको हो । यस्तो छ रुट रुट नं १: पाटन अस्पतालबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर क्यान्सर अस्पताल हुँदै पुन: पाटन अस्पताल रुट नं. २: प्रसूतिगृह, वीर अस्पताल हुँदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म पुगेर पुन: प्रसूतिगृह फर्कने रुट नं. ३: सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर पुन: सिंहदरबार फर्कने रुट नं. ४: निजामती अस्पतालबाट सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकी पुगेर पुन: सोही रुट निजामती अस्पताल फर्कने
नयाँपत्रिकाबाट


  •  
  •  
  •