न्यायाधीश बममाथि ‘गोली हान्ने’ सञ्जय स्माइली पक्राउ

193
  •  
  •  
  •  

काठमाडौं ११ चैत (ओएनएस) : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । अपराध अनुसन्धान ब्युरोको सक्रियतामा सञ्जय स्माईली मगर साउदी अरबबाट पक्राउ परेका हुन् ।

इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी हेमन्त मल्लले ओएनएसलाई बताए ।

‘हिजो मंगलबार लामो अनुसन्धान पछि उनलाई पक्राउ गरिएको छ’ मल्लले भने ‘पक्राउ परेका मगरलाई नेपाल ल्याउने तयारी भइरहेको छ । उनका बारेमा त्यहाँको प्रहरीले केहि कागजपत्र मागेको छ, त्यो पठाएBam Ghatanasthalपछि उनलाई ल्याइन्छ ।’

घटनाका मुख्य सुटर भगवान भनिने सञ्जय स्माइली मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्द इन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गरेको थियो ।

२०६९ जेठ १८ गते बगलामुखी मन्दिरको दर्शन गरेर फर्किने क्रममा ललितपुर उपमहानगरपालिका वडा नम्बर ३४ शंखमुलस्थित युएन पार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले हत्याका योजनाकार बाबु थापासहित चार जनालाई पक्राउ गरी गत पुस १९ गते सार्वजनिक गरिसकेको छ । स्माईली भने साउदी अरब पुगेको प्रहरीले पत्ता लगाएको थियो ।

बाबु थापा र सहयोगी प्रेमराज खड्का बा ३९ प २०५१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका थिए । त्यस्तै, गोली चलाउने करण चौधरी (शिव) र दीपक कर्णलाई जनकपुरबाट पक्राउ परेका थिए ।

मुख्य योजनाकारसहित चार जना पक्राउ पर्नुभन्दा एक महिनाअघि मात्र मुख्य सुटर सञ्जय साउदी अरब गएको खुलेको थियो । अर्का आरोपी ज्ञानु लामा हातहतियार तथा खरखजाना मुद्दामा नक्खु कारागारमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्या योजनाकारको अभियोगमा पक्राउ गरेका बाबु थापासहित ४ मध्ये एकजना धरौटीमा छुटेका थिए भने तीनजना पूर्पक्षमा छन् ।


  •  
  •  
  •