न्यायाधीश बमका हत्यारा खाडीमा मुस्लिम गुरु

116
  •  
  •  
  •  

काठमाडौं ३ भदौ ।
युट्युबमा स्माइल मगर खोज्यो भने ढाका टोपीमा सजिएका एक नेपाली युवा भेटिन्छन् । यतिबेला उनको कामचाहिँ साउदी अरबमा रहेका नेपालीहरूबीच मुस्लिम धर्म प्रचार गर्नु हो ।

वास्तविक नाम सञ्जय स्माइल मगर हो । रामेछाप, खनियापानी घर भएका मगर ३ वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्नेमध्येका एक ‘सार्पसुटर’ हुन् । २०६९ जेठ १८ मा ललितपुर, यूएनपार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या गरिएको थियो ।

घटनाको २ वर्षपछि नेपाल प्रहरी हत्या योजनाकार सर्लाहीका बाबु थापासहित भगवान थापा, शिव चौधरी, प्रेमराज खड्का र दीपक कर्णलाई पक्राउ गर्न सफल भयो । जतिखेर स्माइल मगरचाहिँ भागेर साउदी अरब पुगिसकेका थिए । उनी एक मेनपावर कम्पनीमार्फत ट्रक चलाउने कामका लागि भनी विदेशिएका हुन् । अनुसन्धानबाट यी सबै रहस्य खुलेपछि प्रहरीले उनलाई नेपाल ल्याउन पहलसमेत गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीका अनुसार सुरुवाती अनुसन्धानताकै प्रहरीले बाबु थापालाई नियन्त्रणमा लिँदा मगरलाई समेत पक्रेको थियो । तर पर्याप्त प्रमाण नहुँदा दुवै जना छुटे । घटना पुरानो हुँदै गएपछि प्रहरीले अनुसन्धानमा खासै चासो देखाउन छाड्यो । ब्युरो प्रमुखमा नायब महानिरीक्षक हेमन्त मल्ल आएपछि अनुसन्धान फायल फेरि खोलियो । यस पटकचाहिँ चुरे भावर एकता पार्टीका नेता रहेका थापाकै योजनामा न्यायाधीश बमको हत्या भएको खुल्यो ।

ब्युरोले पुस १९ गते थापा लगायतलाई पक्राउ गरेपछि साउदीमा रहेका स्माइलको रहस्य खुल्यो । सुरुमा नेपाल प्रहरीको इन्टरपोल शाखाले स्माइलविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन इन्टरपोलमार्फत स्माइल चैत १० गते साउदीमा पक्राउ परे । स्थानीय प्रहरीले उनलाई स्थानीय ‘डिटेन्सन’ सेन्टरमा राखिदियो ।

स्माइल तुरुन्तै नेपाल फिर्ता पठाइएलान् भन्ने आसले बसेको नेपाल प्रहरी छक्क पर्‍यो, जब स्माइलले साउदी अधिकारीहरूलाई आफू धर्मगुरु भएको बताए । सोही क्रममा उनले आफूले मुस्लिम धर्मबारे प्रवचन दिएको दुइटा युट्युब पोस्टसमेत देखाए । त्यसपछि साउदी प्रहरीले कानुनी असहजता भन्दै स्माइललाई नेपाल पठाउन नमानेको ब्युरोका अनुसन्धान अधिकारीहरू बताउँछन् । ‘त्यहाँका नेपालीलाई मुस्लिम धर्म राम्रो छ भन्दै नेपालीमा व्याख्या गर्दै बसेको रहेछ,’ एक अनुसन्धान अधिकारीले भने, ‘त्यहाँको स्थानीय मस्जिदमा गएर कुरान व्याख्या गर्ने गरेकाले सबैले मान्दा रहेछन् ।’ प्रहरी पनि स्माइलको कला देखेर आश्चर्यमा पर्‍यो । अरबिक भाषामा भएको कुरान उनले कसरी सिके भन्ने विषयमा प्रहरी आश्चर्यमा परेको हो । ‘मगरले रामायण, गीता, महाभारत र कुरान एकै टेबलमा राखेर सहजै व्याख्या गरिरहेका छन्,’ एक अनुसन्धान अधिकारीले भने ।

नेपाल प्रहरीले फेरि अपराधको गाम्भीर्य औंल्याउँदै पत्राचार गरेपछि साउदी प्रहरीले उनलाई नेपाल पठाउन सहमति जनाएको छ । उनलाई लिन ब्युरोका अधिकारी त्यसतर्फ गएका छन् । उनीहरूले शनिबारभित्रै स्माइललाई नेपाल लिएर आउने ब्युरोकी एसपी किरण बज्राचार्यले बताइन् ।

न्यायाधीश बमलाई २०६९ जेठ १८ बिहीबारका दिन घरबाट ललितपुरको बगलामुखी मन्दिर दर्शन गरी अदालततर्फ जाँदै गर्दा यूएनपार्क करिडोरमा गोली हानी हत्या गरिएको थियो । चुरेभावर राष्ट्रिय एकता पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालत पुगेपछि थापाको विपक्षमा न्यायाधीश बमले फैसला सुनाएका थिए । त्यसकै प्रतिशोध साध्न हत्या भएको हो ।

‘साउदीका नेपालीलाई मुस्लिम धर्म राम्रो छ भन्दै नेपालीमा व्याख्या गर्दै बसेको रहेछ’
कान्तिपुरबाट


  •  
  •  
  •