माघे संक्रान्तिमा २४ हल गोरु जुधाइने

142
  •  
  •  
  •  

नुवाकोट, २६ पुस (ओएनएस) नुवाकोटमा प्रत्येक वर्ष गोरु जुधाएर मनाइने पर्वमा यस वर्ष १६ हल गोरु जुधाइने भएको छ ।

तारुका र बेत्रावतीमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तारुका–५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६ हल गोरु जुधाउनका लागि गोरुधनीले दर्ता गरिसकेको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै बेत्रावतीमा ८ हल गोरु जुनाइनेछन् ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करिब दुई सय वर्ष पुरानो मानिन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको बताइए पनि प्रमाणित भएको छैन । हिउँदमा फुर्सदका समयमा किसानले मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको स्थानीय बताउँछन् ।

पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा पनि गोरु जुधाउने गरिएकामा अन्यन्त्र परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौंँ, धादिङका गरी हजारौंँको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।

यस्तै नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यस वर्ष ८ हल गोरुको दर्ता भइसकेको र अन्य गोरु धनी पनि आउने क्रममा रहेको आयोजक गोसाइँकुण्ड युवा क्लबका जनाएको छ ।

यस वर्ष गोरुको बिमासमेत गरिएकाले किसानले ढुक्क भएर आआफ्ना गोरु जुधाउन सक्नेछन् । किसानहरुले स्वतस्फुर्त रुपमा पालेका गोरुलाई प्रतियोगिता र मनोरञ्जनका रुपमा मात्र नलिई गोरुधनीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा सामेल भएका गोरुहरु शारीरिक रुपमा अशक्त भएमा वा सिँगमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ ।


  •  
  •  
  •