निलो ग्यास सिलिण्डर लागू नहुने अवस्थामा

306
  •  
  •  
  •  

sylinder

काठमाडौ, १५ साउन (ओएनएस) : खाना पकाउँने एलपी ग्यासको निलो सिलिण्डर लागू नहुने भएको छ । सरकारले व्यवसायिक प्रयोजनको लागि निलो रंगको ग्यास सिलिण्डर र घरायसी प्रयोजननको लागि रातो रंगको सिलिण्डर प्रयोगमा ल्याएको थियो । तर दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको भए पनि व्यवसायिक प्रयोजनको सिलिण्डरमा सरकारले मूल्य बढाउने तयारी गरेपछि ग्यास विक्रेताहरू र सरकारबीच विवाद देखिएको हो ।

‘ग्याँसमा गरिन लागेको दोहोरो मूल्य र यसको चुनौती’ विषयमा ग्याँस विक्रेता महासंघले बुधवार मिडिया इन्टरनेशनलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले यथासक्य चाँडो ग्याँसमा दोहोरो मूल्य कायम गरिने बताए । उनले निगमलाई खाना पकाउँने ग्यासबाट अहिले प्रति महिना ८८ करोड घाटा व्यहोरिरहेको उल्लेख गर्दै यथासक्य छिटो दोहोरो मूल्य कायम गरि घाटापूर्ति गरिने जानकारी दिए ।

घरायसी प्रयोजन ग्यासको मूल्य यथावत राखि ब्यवसायिक प्रयोजनका निलो रंगको सिलिण्डरमा मूल्य बढाएर निगमको घाटा न्युन गरिने भट्टले स्पष्ट गरे । उनले ३० प्रतिशत ग्याँस मात्रै ब्यसायिक प्रयोजनमा खपत हुने भएकाले ७० प्रतिशत समस्या समाधान भइसकेको दावी गरे ।

ग्यास विक्रेताहरूले भने दोहोरो मूल्य कायम गरिदा उपभोक्ताले रातो रंगको सिलिण्डर नै नपाउँने अवास्था आउने बताएका छन् । ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले दुई रंगको सिलिण्डर बजारमा आउँन छाडिसकेको उल्लेख गर्दै हतारमा कुनै पनि निर्णय नगर्न सरकारलाई सुझाव दिए । दुई रंगको सिलिण्डर प्रयोग गर्ने सवालमा बोटलिङ् प्लान्टबाटै मुख्य समस्या रहेको उनले स्पष्ट गरे ।

विद्यार्थी संगठनहरूले भने ग्यासमा दोहोरो मूल्य छिटो भन्दा छिटो कायम गरिनु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले ग्यासमा दोहोरो मूल्य आवश्यक हुने भन्दै त्यसकाबारेमा विद्यार्थी संगठनहरूबीच पनि छलफल भइरहेको बताए ।

एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले आफूहरूकै आन्दोलनको कारण दुई रंगको सिलिण्डर प्रयोगमा आएको उल्लेख गर्दै दोहोरो मूल्य कायम गरिनु पर्नेमा जोड दिए । यसैगरि, एमाले विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले ग्यसमा दोहोरो मूल्य कायम गर्न ढिला भइसकेकोले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •