ओस्कार अवार्डका लागि ‘बुलबुल’ सिफारिस

79
  •  
  •  
  •  

काठमाडौं । ओस्कार अवार्डका लागि नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा चलचित्र ‘बुलबुल’ सिफारिस भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विनोद पौडेलद्वारा निर्देशित चलचित्र ‘बुलबुल’लाई सिफारिस गरेको हो । विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामिप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईंसचिव रहेको समितिले ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगष्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । तोकिएको मितिमा ‘बुलबुल’ मात्र सहभागी भएपछि स्वतः छनोट भएको समितिले जनाएको छ ।

‘बुलबुल’ले सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२ औं ओस्कार अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।

फिल्मले टेम्पो चालक महिलाको जीवन र मनोविज्ञानको कथा समेटेको छ । जसमा मुख्य भूमिका अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेकी छिन् ।

अन्य कलाकार लक्ष्मी बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङ, आशिका पाण्डे लगायतको पनि अभिनय छ ।


  •  
  •  
  •