कोसीटप्‍पुको भैंसी मार्न सेनाको प्रयोग

309
  •  
  •  
  •  

काठमाडौं ८ पुस ।
कोसीटप्पु वन्यजन्तु आरक्षभित्र भैंसीआतंक मच्चिएको छ। आरक्ष क्षेत्रभित्र जथाभाबी छोडिएका हजारौं भैंसीका कारण निकुञ्ज प्रशासन र स्थानीय दुवै पक्ष तनावमा छन्। आरक्ष स्थापना भएदेखि नै छोड्न सुरु गरिएका भैंसी स्थानीय बासिन्दाले निकाल्न नमानेपछि प्रशासनले गोली हानेर १० भन्दा बढी भैंसी मारिदिएको छ।

स्रोतका अनुसार पटकपटकको आग्रह स्थानीय बासिन्दाले नमानेपछि सेना प्रयोग गरिएको हो। आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सम्झाउँदा पनि भैंसी निकाल्न नमान्नेमाथि कारबाही जारी रहेको बताए। उनले भने, ‘अहिलेसम्म करिब ६ हजार भैंसी निकालिएको छ। अरू निकाल्ने क्रम जारी छ।’ आरक्ष प्रशासनले त्यहाँ करिब नौ हजार भैंसी रहेको अनुमान गरेको छ।

भैंसी बाहिर निकाल्ने यसअघिका थुप्रै प्रयास असफल भएका थिए। अर्ना (जंगली भैंसी) का लागि प्रसिद्ध यो आरक्षमा घरपालुवा भैंसी प्रवेश गरेपछि संरक्षण अभियानसमेत प्रभावित भएको छ। हाल त्यहाँ तीन सय २७ अर्ना छन्।

प्रशासनले भैंसी मारिदिएपछि स्थानीय बासिन्दा भने आक्रोशित छन्। भैंसी मारिएको विवाद राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसम्म आइपुगेको छ। आरक्षमा भारतबाट समेत भैंसी ल्याएर छोड्ने चलन छ।

चरनका लागि छोडिएका भैंसी नब्याएसम्म लिन आउने चलन छैन। आरक्षमा तीन सय भैंसी भएका सप्तरी बरमझियाका मनोज भरखेरले आरक्ष प्रशासनको सूचनापछि भैंसी निकालिरहेको बताए।

उनले अहिलेसम्म एक सय भैंसी बाहिर निकालेको र अझै करिब दुई सय निकाल्न बाँकी रहेको जानकारी दिए। ‘उहिलेदेखि नै हामीले आरक्षवरिपरि भैंसी चराउने गरेका हौं। भित्र पसेका भैंसी बाहिर निकाल्दैछौं’, उनले भने।

आरक्षभित्र अवैध रूपमा चर्ने भैंसी निकाल्दा अर्ना संरक्षणमा योगदान पुग्ने प्रशासनको ठहर छ। ‘८० प्रतिशत भैंसी बाहिर निकालियो। अब अरू पनि चाँडै निकाल्छौं’, प्रमुख संरक्षण अधिकृत बरालले भने। त्यहाँ धेरै भैंसी आरक्षभित्रै बस्ने र केही दिनभर चराउन ल्याउने चलन छ।

आफ्ना भैंसीमा चिन्ह (छाप) लगाएर आरक्षभित्र छोडिन्छ। आरक्ष प्रशासनले जथाभाबी चल्ने डुंगासमेत व्यवस्थित गर्न लाइसेन्स दिन थालेको छ। हालसम्म ६२ वटा डुंगा र दुई सय ९२ जनालई माछा मार्ने इजाजत दिइएको छ।

जंगली स्वभावको अर्नालाई भैंसीका कारण अप्ठ्यारो परेको विज्ञहरूको ठहर छ। भैंसीको संगतले अर्ना आफ्नो स्वभावभन्दा फरक घरेलु प्रकृतिको हुन थालेको छ। स्थानीय भैंसीबाट अर्नाका कति पाडा जन्मिए भन्नेबारेमा समेत अध्ययनको खाँचो देखिएको छ।

आरक्षमा नियमित रूपमा चरा अनुगमनका लागि जाने चराविद् डा. हेमसागर बरालका अनुसार एकै ठाउँमा महिनौंसम्म सँगै बस्ने अर्ना र भैंसीबाट जन्मिएका पाडापाडी छुट्ट्याउन सकिँदैन। ‘मिक्स नभएका अर्नाको संख्या कति हो भन्नेमा अध्ययनको खाँचो देखिएको छ’, संरक्षण अधिकृत बरालले भने।

विज्ञहरूका अनुसार घरपालुवा भैंसी र राँगो अर्नाबीच मात्रै क्रस हुन्छ। जंगली भैंसीसँग घरपालुवा राँगोको क्रस सम्भावना भने कम हुन्छ। क्रसबाट जन्मिने पाडापाडी बलिया हुने भएकाले त्यसप्रति स्थानीय बासिन्दाको बढी चासो हुने गरेको छ।

तीन वर्षअघि अशोक राम र केपी आचार्यले अर्नामाथि गरेको अनुसन्धानले अर्ना संरक्षणका लागि यसको गणनासमेत नियमित हुनुपर्ने सुझाव दिएको छ।

संकटापन्न सूचीमा रहेको अर्ना सन् १९७६ मा कोसीटप्पु वन्यजन्तु आरक्ष घोषणा हुँदा ६३ वटा थिए। यो क्षेत्र १९८७ मा रामसार साइटमा सूचीकृत भएको थियो। यो आरक्ष अर्ना र चराका लागि प्रसिद्ध छ। १७ हजार पाँच सय हेक्टरमा फैलिएको यस आरक्षमा चार सय ८५ प्रकारका चरा पाइन्छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •