अन्तिममा बजेटप्रति प्रचण्डले पनि गरे असन्तुष्टि ब्यक्त, अाेली भए एक्लै

799
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) : अागामी अार्थिक वर्षकाे बजेटलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट देखिएका छन् ।

सत्तापक्षकै अधिका‌ंस सांसदहरु विनियोजित मन्त्रालयगत बजेटप्रति विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्ट अनुहारहरु देखिएका छन्।

शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अधिकांस नेताहरु समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ । प्रचण्डले नै बजेटप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा अाेली एक्लै भएका छन्।

शनिबार नै स्थायी कमिटी बैठक अघि संसदीय दलको बैठकमा केपी शर्मा ओलीसँगै प्रचण्डले बजेटको बचाउ गर्न निर्देशन दिएका थिए । तर, लगत्तै बसेको स्थायी कमिटीमा प्रचण्डले विरोध गरे ।

बजेटले पार्टी एकताले पैदा गरेको उत्साह र नीति तथा कार्यक्रमसम्म आइपुग्दा रहेको सकारात्मकताको प्रतिनिधित्व गर्न नै नसकेको उनको टिप्पणी छ । ‘चिसो पानी खन्याए जस्तो भयो’ उनको भनाइ उधृत गर्दै एक नेताले भने ।

पार्टीका नेताहरुलाई पाखा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा। युवराज खतिवडालाई बनाएका थिए । बजेट बनाउने क्रममा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीसँगै पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए ।

तीन जनाबीच छलफल भएको तर त्यसअनुसार बजेट नआएको उनले बताए । सम्भव भएसम्म बजेटलाई सही एजेण्डामा सदुपयाेग गर्नुपर्नेमा प्रचण्डले जाेड दिएका छन् ।

सत्तारुढ सांसदहरुले विपक्षीको भन्दा चर्को स्वरमा मन्त्रालयगत बजेट विनियोजनको आलोचना गरेका छन् । उनीहरुलाई सम्झाउन नेकपाले शनिबार संसदीय दलको बैठक डाकेको थियो । तर, सांसदहरु झन् चर्को स्वरमा प्रस्तुत हुन थालेपछि समय अभाव भन्दै शीर्ष नेताहरु बैठक नै स्थगित गरेर हिँडेका छन् ।

स्थायी कमिटी बैठकमा पनि मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टि प्रकट भएको छ । संसदीय दललगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि सरकारको काम कारवाहीबारे प्रश्न उठेपछि थप प्रभावकारी बनाउने निर्णय गरेर बैठक टुंगियो ।
बजेटले घोषणापत्र र लोकप्रिय कार्यक्रम बिर्सिएको तथा मन्त्रीहरुले मन्त्रालयगत बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्र र त्यसमाथि आफ्नो टोलमा केन्द्रित भएको आरोप सांसदहरुले लगाएका छन् ।


  •  
  •  
  •