काठमाडौं, २३ असार (ओएनएस) भारत सरकारको सहयोगमा प्रसिद्ध बुढानिलकण्ठ मन्दिरमा नयाँ भवन बन्ने भएको छ । सो सम्बन्धी सम्झौतामा सोमवार भारतीय राजदुतावासका प्रथम सचिव मदन सिंह भण्डारी, काठमाडौका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराई र बुढानिलकण्ठ मन्दिरमा मठाधिश स्वामी निगमानन्दले हस्ताक्षर गरेका छन् ।
बुढानिलकण्ठ मन्दिर परिसरमा रहेको माटो निर्मित भवन जीर्ण भएपछि केही महिना पहिला भत्काइएको थियो । भवन अभावमा मन्दिरमा महन्थ तथा विद्यार्थीलाई आवासको समस्या भएको थियो । आवास अभावभएपछि मन्दिरमा मठाधिश स्वामी निगमानन्दको पहलमा भारतीय दुतावास नयाँ भवन बनाउन सहमत भएको हो । भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर गर्दै भारतीय दुतावासका प्रथम सचिव मदनसिंह भण्डारीले नेपाल भारत सहकार्य कार्यक्रम अन्र्तगत बुढानिलकण्ड मन्दिर परिषरमा मठाधिश भवन बनाउन सहयोग गरेको बताए । उनले धार्मिक तथा आस्थाको केन्द्र भगवान बुढानिलकण्ठ मन्दिरमा भवन बनाउन पाउँदा खुशी लागेको बताए ।
भारतीय दुतावासको २ करोड ७६ लाख सहयोगमा नयाँ भवन निर्माणको काम थाल्ने मठाधिश स्वामी निगमानन्दले जानकारी दिए । सो अवसरमा काठमाडौं जिल्लाका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईले यही साउन महिनाभित्र टेण्डर आह्वान गर्ने र भवन निर्माणको प्रक्रिया सुरु गर्ने जानकारी दिए । नयाँ बन्ने भवनमा मठाधिश, विद्यार्थीको आवास, भगवानको गहना राख्ने, भजनहल लगायत बनाउने योजना रहेको स्वामी निगमानन्दले जानकारी दिए ।
स्वामी निगमानन्दको विशेष पहल र भातरीय दुतावासको सहयोगमा साढँे दुई तल्ले भवन यसैवर्षभित्र निर्माण गर्ने योजना रहेको छ । भारतको बनारसस्थित सम्पुणानन्द विश्वविद्यालयबाट बेदान्तमा आचार्य गरेका स्वामी निगमानन्दलाई दुईवर्ष अघि गुठी संस्थानले मन्दिरको मठाधिशमा नियुक्त गरेको थियो । मठाधिशमा नियुक्त भएपछि स्वामी निगमानन्दले सुधारका काम गर्दै आएका छन् । उनकै पहलमा मन्दिरमा सफा पानीको व्यवस्था भएको छ ।