विनियोजन विधेयकमाथि संसदमा आजदेखि छलफल

426
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) : लामो प्रतिक्षापछि व्यवस्थापिका संसदको बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । बुधवार सभासदहरुले रातो किताव पाएपछि आजदेखि विनियोजन विधेयकमाथि छलफल हुन लागेको हो । कार्यव्यवस्था परामर्श समितिले संसदमा पेश गरेको विनियोजन विधेयकको विभिन्न मन्त्रालय सम्बन्धी वार्षिक बजेटमाथि झण्डै ३५ दिन दफावार छलफल गर्ने कार्य तालिका तय गरेको थियो ।

तर ढिलो भएका कारण त्यसलाई छोट्याइने भएको छ । यसअघि भदौ १५ गतेसम्म छलफल तय गरिएपनि भदौ ५ गतेसम्मको कार्यसूची बनाइएको छ । चालु आवको बजेट सार्वजनिक भएको १७ दिनपछि राष्ट्रिय योजना आयोगले सांसदहरूलाई हिजाु रातो किताब उपलब्ध गराएको थियो ।

पहिलो दिन पर्यटन, संस्कृति, नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । गएको असार २९ गते नै सरकारले बजेट सार्वजनिक गरेको र अघिल्लो हप्तादेखि नै विनियोजन विधेयकमाथि छलफल हुने भने पनि रातो किताब आउन ढिलाइ भएका कारण आजदेखि मात्र छलफल शुरु हुन लागेको हो । राष्ट्रिय योजना आयोगले जिल्लागत कार्यक्रम तथा बजेट छुट्टयाइएको रातो किताब हिजो सबै सभासद्का लागि उपलब्ध गराएपछि आजदेखि छलफल शुरु हुन लागेको हो ।


  •  
  •  
  •