ज्येष्ठ नागरिकलाई बार्षिक २ हजार

673
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं ३० असार(ओएनएस)। सरकारले आगामी आर्थिक बर्षबाट सत्तरी बर्ष पुगेका ज्येष्ठ नागरिकलाई बार्षिक २ हजार रुपैंया औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । हाल दिइरहेको भत्ताका अतिरिक्त दोहोरो नपर्ने गरी सो रकम उपलब्ध गराउने लागेको हो ।

त्यस्तै १५ बर्ष मुनिका बालबालिका तथा ७५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुको मुटु रोगको निःशुल्क उपचारलाई निरन्तरता दिने अर्थमन्त्री रामशरण महतले बताए । सरकारले सामाजिक सुरक्षा अन्तर्गत विभिन्न निकायहरुबाट सञ्चालन गरिने यस्ता कार्यक्रमहरुका लागि कुल ५५ अर्व विनियोजन गरेको छ ।

सरकारले दोश्रो जनआन्दोलनका घाइते तथा सहिद परिवारलाई दिदैँ आएको मासिक भत्तालाई बढाएर ७ हजार रुपैंया पु¥याएको छ । त्यस्तै परिचयपत्र लिएका अति अशक्त तथा अपाङगलाई मासिक ३ सय भत्ता दिने व्यवस्था गरेको बताएको छ ।

चालु आव देखि शुरु गरिएको स्वास्थ्य वीमा कार्यक्रमलाई आगामी आवमा प्रत्येक विकास क्षेत्रको कम्तीमा ३ जिल्ला गरी १५ जिल्लामा विस्तार गरिने महतले बताए । त्यसैगरी मुटु क्यान्सर,मृगौला, ‘अल्जाइमर्स’,स्पाइनल इन्जुरी र हेड इन्जुरीलगायत रोगका लागि विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च दिने व्यवस्था गरिएको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी सेवा कुष्ठरोगीलाई अनुदान दिने ,आमा सुरक्षा,शिशुन्यानो झोलालगायत कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

विपन्न र सीमान्तकृत जनतालाई आवास सुविधा उपलब्ध गराउनका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘जस अन्तर्गत दलित,विपन्न मुसलवान,चेपाङलगायत वर्गका लागि १ हजार ७ सय ६२ ओटा जनता आवास निर्माण गर्ने छौ, उनले भने । आगामी बर्ष गरिवी निवारण कोषमार्फत २ हजार ३ सय ओटा आय आर्जन तथा ८ सय ५० ओटा पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिने छ ।

यसबाट थप ६० हजार जनता लाभान्वित हुने महतको विश्वास छ । यस प्रायोजनका लागि ३ अर्व ६१ करोड विनियोजन गरेको छ । त्यस्तै २५ जिल्लाका गरिव घरपरिवार पहिचानको कार्यक्रम समेत सञ्चालन गर्ने अर्थमन्त्री डा.महतले बताए ।


  •  
  •  
  •