आज ६ खर्ब २० अर्बको बजेट आउँदै

310
  •  
  •  
  •  

काठमाडौं २९ असार (ओएनएस) :

सरकारले आइतबार ६ खर्ब २० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। योजना आयोगले दिएको ५ खर्ब ९६ अर्बको लक्ष्यभन्दा केही बढी हुने गरी अर्थमन्त्री डा। रामशरण महतले नयाँ बजेट निर्माण गर्नुभएको हो। बजेटले पूर्वाधार विकास, ऊर्जा तथा जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा बढी चासो राखेको छ। आर्थिक वर्ष २०७१÷७२ को बजेटमा धेरै पुराना कार्यक्रमले पनि प्राथमिकता पाएका छन्।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङमै आधारित रहने गरी बजेटको आकार निर्धारण गर्ने तयारी भए पनि बजेटरी रकमको माग थेग्न त्यसलाई वृद्धि गर्नुपरेको स्रोतको भनाइ छ। सरकारले ल्याउन लागेको बजेट आयोगले तोकेको पूर्ववत् सिलिङभन्दा झन्डै २० अर्बभन्दा बढी हो। कृषि, पूर्वाधार विकास, ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई तुलनात्मकरूपमा प्राथमिकतामा राख्ने पहल बजेटले गरेको छ। यसबाहेक सामाजिक सुरक्षा कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगार आदिलाई पनि प्राथमिकतामा राखिएको स्रोतको भनाइ छ। स्रोतका अनुसार यसपटक कर्मचारीको तलब थोरै वृद्धि हुने भएको छ।

सभासदको माग पुरा हुने
सभासद्हरूले माग गरेको पाँच करोड रुपियाँ भने घुमाउरो तरिकाले उपलब्ध गराई सभासद्को पनि चित्त बुझाउने र बाहिरको विरोध पनि थेग्ने नीति अर्थ मन्त्रालयले लिएको स्रोतको भनाइ छ। यसबाहेक सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, ग्रामीण विकासका कार्यक्रम समेट्नेलगायतका कार्य बजेटले गरेको बताइएको छ।स्रोतका अनुसार सूर्ति तथा मदिरा जन्य वस्तु, सवारीसाधन, विलासिताका सामग्रि आदिको राजस्वको दर वृद्धि गरिएको भने सूचना प्रविधि र अन्य अत्यावश्यकीय वस्तुमा भने दर घटाइएको छ।

अर्थमन्त्री डा. रामशरण महतले सरकारले ऊर्जा, पूर्वाधार विकास, पर्यटन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिने बताउँदै आएका  छन् । मुलुकको विकास र परिवर्तनमा कृषि, पर्यटन र पूर्वाधार विकासले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यी क्षेत्रमा लगानी बढाउनु अत्यावश्यक रहेको  ठम्याइ छ।

पछिल्ला केही वर्षयता विकास खर्चमा आएको सुस्तताका कारण समग्र बजेटरी खर्च संरचना नै प्रभावित हुन थालेपछि सरकारी निकायबाट यस्तो अवधारणा आएको हो। चालु आर्थिक वर्षको बजेट निर्धारित समयमा नै आई खर्च प्रक्रिया शुरू भए पनि आर्थिक वर्ष सकिनै लाग्दासमेत विकास बजेट प्रभावकारी रूपमा खर्च हुन सकेको छैन। सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब १७ अर्ब २४ करोडको बजेट ल्याएको थियो।
सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेट आइतबार दिउँसो ४ बजे व्यवस्थापिका संसद्मा सार्वजनिक गर्दैछ।


  •  
  •  
  •