जेठ १५ मा बजेट कि गणतन्त्र दिवस ?

337
  •  
  •  
  •  

काठमाडौं १७ बैशाख ।
सामान्य काम गर्दा पनि क्यालेन्डरमा अंकित हुने महत्त्वपूर्ण दिन ख्याल गरिन्छ । तर संविधानसभाले होस नपुर्‍याउदा नयाँ संविधानमा गणतन्त्र दिवस र बजेट घोषणा एकै दिन परेको छ । संविधानसभामा संविधानको मस्यौदाका प्रत्येक धारामा अनेकौंपटक बहस छलफल र विवाद भए । मस्यौदामा दर्जनौं संशोधन पनि परे । तर ‘जेठ १५’मा बजेट पेस गर्ने मिति गणतन्त्र दिवसको दिन पर्छ भन्ने ख्याल कसैले गरेन ।

राष्ट्रिय जीवनमा महत्त्व राख्ने दिनमा खुसियाली मनाउन सरकार सार्वजनिक बिदा दिने गर्छ । सार्वजनिक बिदा वा गणतन्त्र दिवसका दिन बजेट घोषणा गर्नै नहुने भन्ने होइन । तर त्यस्ता दिनको महत्त्व दर्साउन भरसक अन्य औपचारिक कार्यक्रम गरिँदैनन् । तर संवैधानिक कारणले गणतन्त्र दिवसकै दिन बजेट घोषणा गनुपर्ने बाध्यता भएको छ ।

बजेट पेस गर्ने समय निर्धारण नहुँदा जथाभावी भएको भन्दै बर्सेनि जेठ १५ गते अनिवार्य रूपमा गर्ने गरी यसपटक संविधानमा नै मिति निर्धारण गरिएको हो, जसले बजेट नियमित समयमै आउने सुनिश्चितता दिलाएको छ । तर दिनको चयनमा ख्याल नपुग्दा मुख्य दुईटा काम एकै दिन गर्नुपर्ने बाध्यता भएको छ ।

गणतन्त्र दिवससम्बन्धी मूल समारोह समितिको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले एकै दिन परेकाले यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । ‘गणतन्त्र दिवस सार्न सकिन्न,’ उनले बैठकमा भने, ‘बजेट पेस गर्ने दिन सहमतिमा सार्न सकिन्छ ।’

संविधानमै मिति निर्धारण भएकाले राजनीतिक सहमतिले मात्र हुँदैन । यसका लागि संविधान नै संशोधन गरी मिलाउनुपर्ने हुन्छ । संविधानको धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले उपधारा -१) बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नेछ’ भन्ने व्यवस्था छ । संविधानको यो व्यवस्था नै संशोधन भएपछि मात्र मिति तलमाथि हुन सक्छ । बजेट घोषणाको मिति सार्ने प्रयोजनकै लागि संविधान संशोधन हुने सम्भावना छैन ।

‘गणतन्त्र दिवसको दिन अन्य धेरै औपचारिक कार्यक्रम हुने भएकाले त्यो मितिबारे सोच्न सकिन्छ कि भन्ने मात्र हो यसपालि मिति परिवर्तन गर्ने भन्ने होइन,’ कानुनमन्त्री अग्नि खरेलले कान्तिपुरसँग भने, ‘संविधानमा तोकिएकै दिन बजेट आउँछ ।’ अन्य कुनै विषयलाई लिएर संविधान संशोधन गर्नुपर्ने अवस्थामा त्यो बेला बजेट पेस गर्ने मिति पनि केही दिनयता हुने गरी संशोधन गरेर जान सकिने मन्त्री खरेलले बताए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बनेको मूल समारोह समितिले १४, १५ र १६ गते गणतन्त्रसम्बन्धी विशेष कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । १४ गते सञ्चार माध्यमहरूलाई गणतन्त्रसम्बन्धी लेखरचनाहरू प्रकाशन गर्न आग्रह गर्ने, साँझ दीपावली गर्ने, १५ गते सेनाले बिगुल बजाउने, तोप पडकाउने र टुँडिखेलमा मूल कार्यक्रम आयोजना गर्ने, साँझ दीपावली गर्ने र १६ गते प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फूलबल प्रतियोगिता आयोजना गर्ने तय भएको छ । मूल समारोह समिति अन्तर्गत रहने गरी प्रचारप्रसार, कवाज झाँकी व्यवस्थापन र मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ । कान्तिपुरबाट


  •  
  •  
  •