बजेटमा एमालेको विरोध, पारित गर्न नदिने चेतावनी

170
  •  
  •  
  •  

काठमाडौं,  ३० असार (ओएनएस) :  सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमाथिको छलफलमा भाग लिने नेताहरुले आफ्ना नेताहरुको बजेटसँग जोडेर नाम नराखिएकोमा अपत्ति जनाएका छन् ।

बुधबारको छलफलमा एमाले नेता सुरेन्द्र पाण्डे र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले आफ्ना नेताको नामसँग जोडेर बजेट नल्याइएको भन्दै विरोध जनाए ।

सत्तारुढ एमालेका नेता तथा पूर्वअर्थ मन्त्री पाण्डेले बृद्ध भत्ता कार्यक्रमअघि एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको नाम नराखिएको भन्दै आपत्ती जनाए । मनमोहन प्रधानमन्त्री भएको पालादेखि सुरु भएको भत्ता दिने कार्यक्रममा मनमोहनको नाम जोड्न एमालेले विगत केहि वर्ष यता कसरत गर्दै आएको छ ।

पाण्डेले एमालेका पूर्वमहासचिव मदन भण्डारी र कांग्रेसका बाग्लुङका पूर्वसभासद हरि खड्काको नाम जोडेकोमा पनि आपत्ति जनाए । गत वर्ष बस दुर्घटनामा ज्यान गुमाएका खड्काको स्मृतीमा ट्रमा सेन्टर खोलिने बजेट भाषणमा उल्लेख थियो । यसैगरी भण्डारी नाममा पनि ट्रमा सेन्टर स्थापना गरिने बजेटमा छ ।

एमालेले दुई नेताको हैसियत नमिल्ने भन्दै विरोध गरेपछि पाण्डे अघि बोलेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले खड्का पनि लोकप्रीय नेता भएको बताएका थिए ।

पौडेलको भनाईप्रति आक्रोशित बनेका पाण्डेले ‘रामचन्द्र पौडेल र गोल्चे सार्कीको नाम जोडे के हुन्छ ? ‘ भनी प्रश्न सोधेका थिए । २०४८ को संसद बैठक चलिरहदा सार्कीले पौडेललाई चड्कन लगाएका थिए ।

यस्तै पाण्डेले मध्य पहाडी लोकमार्गबाट पुष्पलालको नाम हटाइएको भन्दै आपत्ति जनाए । ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रम पहिले नै हटिसकेको भए पनि आफू अर्थमन्त्री हुँदा राखिएको बताउँद  उनले भने – ‘पुष्पलालको नाम किन डिलिट गरियो ? यस्तो एट्टिच्युडले कसरी चल्छ ?’  त्यसो त एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पनि पुष्पलालको नाम हटाइएमा टिप्पणी गरेका थिए ।

भट्टराईले भने, ‘पुष्पलाल लोकमार्ग’ भन्न अर्थमन्त्री किन लजाउनुभएको होला ? 

फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले बजेटमा कांग्रेस एमालेका नेताका नाममा कार्यक्रम बनाइएको भन्दै विरोध जनाए । उनले भने, ‘कांग्रेस एमालेका नेताका नाममा कार्यक्रम बनाएर पैसा छुट्याइएको छ तर रामराजा र गजेन्द्र नारायणका नाममा कार्यक्रम खै ? मधेसमा  नेता जन्मिएका छैनन् र ?’


  •  
  •  
  •