सरकारले आज बजेट सार्वजनिक गर्दै

97
  •  
  •  
  •  

काठमाडौं,  २९ असार (ओएनएस) : पुराना कार्यक्रम र पनु निर्माणको प्राथमिकतासहित आज बजेट आउने भएको छ । सरकारले आगामी आर्थिक बर्ष २०७२/०७३ को बार्षिक बजेट आज संसदमा सार्वजनिक गर्दैछ । भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माणलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्बको बजेट मंगलबार सार्वजनिक गर्न लागेको हो ।

पुनर्निर्माणलाई प्राथमिकता दिइएकाले बजेटमा सरकारले राष्ट्रिय महत्वका नयाँ कार्यक्रम भने नपारेको अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् । बजेटमा पुनर्निर्माणका कार्यक्रममा निजी क्षेत्रलाई समावेश गर्ने नीति लिइएको छ । तर, निजी क्षेत्रलाई कसरी सहभागी गराउने भन्ने स्पष्ट खुलाइएको छैन । बजेटमा वृद्धवृद्धा, अपांग, एकल महिला लगायतको मासिक भत्ता बढाएर १ हजार पुरयाइएको छ । दलित तथा छात्राको छात्रवृत्ति रकम पनि वृद्धि गरिएको छ।

निजामती कर्मचारीको तलब भने नबढ्ने भएको छ । निजामती कर्मचारीका संघसंगठनले १० प्रतिशत तलब बढाउन माग गर्दै अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाएका थिए । तर तलब ५ प्रतिशत बढाउने तयारी छ । सत्तारूढ दलका प्रत्यक्षतर्फ निर्वा्चित सांसदहरूले ५ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा रकम दिन अर्थमन्त्रीलाई दबाब दिए पनि त्यसअनुसार रकम विनियोजन गरिएको छैन । आगामी बजेटमा शिक्षा, स्वास्थ्य तथा खानेपानीजस्ता सामाजिक क्षेत्रमा पनि पर्याप्त बजेट राखिएको छ ।

भूकम्पले कृषि, उद्योग र सेवा क्षेत्रमा प्रभाव पारेकाले यी क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने किसिमका कार्यक्रम राखिएका छन् । आज दिउँसो ४ बजे व्यवस्थापिका संसदमा अर्थमन्त्री रामशरण महतले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । त्यसअघि मन्त्रिपरिषदको बैठक बसेर बजेट पारित गरिनेछ । सीआइएनले पनि बजेटको प्रत्यक्ष प्रशारण गर्नेछ ।


  •  
  •  
  •