बुद्धको जन्मभूमिबाटै बुद्धत्व जगाउन बौद्ध सम्मेलन : प्रधानमन्त्री

177
  •  
  •  
  •  

काठमाडौँ, ७ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई बौद्ध धर्मसँग जोड्न र बुद्धको जन्मभूमिबाटै बुद्धत्व जगाउनाका लागि अन्तराष्ट्रिय बौद्ध सम्मेलन नेपालमा गरिएको बताएका छन् ।

काठमाडौंमा बिहीबार बौद्ध सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मभूमिमात्र नभएर बुद्धिज्मको स्रोत पनि भएको बताएका छन् । उनले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने चिनाउनका लागि पनि अन्तराष्ट्रिय बौद्ध सम्मेलन नेपालमा गरिएको उनको भनाई थियो । उनले बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वसामू पुगेजसरी भगवान् बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको विश्वभर पुर्‍याउनु आवश्यक रहेको समेत बताए ।

वर्तमान अवस्थामा लुम्बिनी विश्व पर्यटनका लागि आकर्षक बन्दै गएको भन्दै अध्ययनस्थलको रुपमा पनि विकास भइरहेको उनको भनाई थियो । उनले लुम्बिनीको दीर्घकालीन विकासका लागि यो सम्मेलनले मार्गदर्शन गर्ने आशा पनि व्यक्त गरे ।

यस्तै, उनले वार्ता र सम्वादको माध्यमबाट सबै समस्याको समाधान हुने भन्दै मधेसी दलहरूको मागहरूलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । उनले संविधान जारी भएपछि नेपालको संक्रमणकाल टुङ्गिएको बताउँदै अब एकता, विकास र स्थायीत्वका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।


  •  
  •  
  •