समलिंगीलाई ढुंगाले हिर्काएर मार्ने सजाय भएको नयाँ कानून लागू

394
  •  
  •  
  •  

ब्रुनाई (एजेन्सी) : दक्षिण पूर्वी एशियाली मुलुक ब्रनाईले समलिंगीलाई ढुंगाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानून बुधबारदेखि लागू गरेको छ ।

बीबीसीका अनुसार नयाँ कानूनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन् । अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानूनको विरोध गरेका छन् ।

ब्रुनाईको समलिंगी समुदायले आफूहरूले मध्ययुगको जस्तो सजायहरूको पाउनसक्ने डर व्यक्त गरेका छन् । ‘तपाईँ उठ्दा तपाईँको छिमेकी वा परिवार वा सडककिनारमा व्यापार गर्ने वृद्धाले समेत तपाईँलाई मानव नै होइन या ढुंगाले हानेर मार्नु ठिक हो भन्ठान्ने भनेर सोच्नुपर्ने भएको छ,’ ब्रुनाईका एक जना समलिंगीले बीबीसीलाई आफ्नो परिचय नखोल्ने आग्रहका साथ बताए ।

नयाँ कानून अनुसार कुनैपनि व्यक्तिलाई समलिंगी व्यवहार गरेको चारजनाले देखेका वा आफैंले स्वीकार गरे मात्रै सजाय दिन सकिन्छ बीबीसीले उल्लेख गरेको छ । ब्रुनाईमा समलिंगी सम्बन्ध पहिलेपनि गैरकानूनी थियो र १० वर्षसम्मको जेल सजाय हुन सक्थ्यो ।

तेल र ग्याँस निर्यातका कारण धनी बनेको ब्रुनाईलाई ७२ वर्षीय सुल्तान हसनल बोल्कियले शासन गर्छन् । संसारका ठूला होटलहरू सञ्चालन गर्ने ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सीको नेतृत्व सुल्तानले गर्छन् ।

बीबीसीले जनाए अनुसार नयाँ कानून लागू गर्न लागेका कारण हलिउडका चर्चित अभिनेता जर्ज क्लुने र अन्यले सुल्तानका होटलहरू बहिष्कार गर्न अह्वान गरेका छन् ।

बु्रनाईका शासक परिवारसँग ठूलो सम्पत्ति छ र ब्रुनाईका नागरिकहरूले राज्यबाट कर तिर्नु नपर्ने राम्रो सुविधा प्राप्त गर्छन् । ब्रुनाईमा कुल ४२०,००० मा दुई तिहाइ जनसंख्या इस्लाम धर्मालम्बीको छ ।

बु्रनाईको कानूनमा मृत्युदण्डको व्यवस्था भएपनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन । ब्रुनाईले सन् २०१४ मा सरिया कानून लागू गरेको थियो र सुल्तानले केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए ।

गएको शनिबार सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि सरिया मुलुकी संहिता लागू हुने घोषणा गरेको हो ।
ब्रुनाईको मुलुकी संहिता मानव अधिकार हनन् गर्ने व्यवस्था भएको समस्याग्रस्त कानुन हो । संयुक्त राष्ट्रसंघले पनि मुलुकी संहितालाई क्रुर, अमानवीय र अपमानजनकु भएको र मानव अधिकार संरक्षणमा बाधा पार्ने बताएको छ ।

के व्यवस्था छ ? नयाँ कानूनमा

बीबीसीका अनुसार बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था नयाँ कानुनमा छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था छ।

थै १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई इस्लामभन्दा अरू धर्मका बारेमा सिकाउनु पनि गैरकानूनी बनाइएको छ । कानून मुलत इस्लाम धर्मालम्बीमा लागू हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागू हुन्छ ।


  •  
  •  
  •