‘ब्रिजकोर्स’मार्फत विद्यार्थी किनबेच

544
  •  
  •  
  •  

Bridge courseकाठमाडौं ,२५ चैत (ओएनएस) : राजधानीको नाम चलेको एक उच्च माविमा सञ्चालक बुटवल, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्मको हालै यात्रा गरे । उनको उद्देश्य आफ्नो उच्च मावि (प्लस टू)को व्यवसाय प्रवद्र्धन त छँदै थियो, केही वर्षयता उनको उच्च माविमा उपत्यकाबाहिरका विद्यार्थीको चाप घट्नुको कारण खोतल्नु पनि थियो ।

यस क्रममा उनले अनौठो रहस्य पत्ता लगाए ।  ती सञ्चालकले स्थानीय विद्यालय र ब्रिजकोर्स (तयारी कक्षा) पढाउने इन्स्टिच्युटहरुको पनि भ्रमण गरे । उनी त्यतिखेर अचम्ममा परे, जतिबेला कमिसनको कुरा आयो ।

बुटवलमा नाम चलेको एउटा ब्रिजकोर्स सञ्चालकले त प्रति विद्यार्थी ५ हजार रुपियाँसम्म माग गर्याे । ‘ उसले अघिल्लो वर्षको हिसाबै देखाएर भन्यो,’ ती प्लस टू सञ्चालक भन्छन्, ‘पोहोर साल मैले २ सय विद्यार्थी राजधानीका केही प्लस टूमा पठाइदिएको थिए । ५ हजार रुपैया घटी त कसैलाई दिइन ।’

ती ब्रिजकोर्स सञ्चालकले यसपालि पनि पाँच हजार रुपियाँ पाए राम्राराम्रा विद्यार्थी छानेर पठाइदिने बताएका थिए । उनकै हिसाबलाई पत्याउदा ब्रिजकोर्स सञ्चालकले २ सय विद्यार्थीलाई गत वर्ष १० लाख रुपैयाँमा बेचेका थिए । विद्यार्थीबाट उठाएको रकमसमेत जोड्ने हो भने ठीक दोब्बर हुन्छ ।

यो त एउटा उदाहरण मात्रै हो । अहिले ब्रिजकोर्सका नाममा राजधानीदेखि मुलुकका अन्य सहरहरुमा थुप्रै इन्स्टिच्युटहरु खुलेका छन् । उनीहरुले प्लस टूमा विज्ञान, व्यवस्थापन र अन्य प्राविधिक कक्षाहरूमा सहज प्रवेश र पढाइका निम्ति एसएलसी दिएका विद्यार्थीहरूलाई आकर्षित गर्न अनेकौँ उपाय लगाइरहेका छन् ।

हामीले उपत्यका र बाहिरका प्रमुख सहरहरूबाट संकलन गरेको तथ्यांकअनुसार विद्यार्थीबाट पाँच हजारदेखि १० हजार रुपैयाँसम्म ब्रिजकोर्स पढाएबापत उठाइरहेका छन् । तर, उनीहरुको कारोबार यतिमै सीमित हुँदैन । विद्यार्थीलाई राम्रो स्कुल सिफारिस गरिदिने, छात्रवृत्ति दिलाइदिनेदेखि अनेकौ प्रलोभन पनि विद्यार्थीलाई देखाइरहेका छन् । तर, यसबापत पनि निजी उच्च माविहरुबाट कमिसन लिइरहेका छन् ।

images

ब्रिजकोर्स सञ्चालकहरु स्कुल भ्रमणका नाममा निजी उच्च माविहरुकै विज्ञापन गरिरहेका हुन्छन् । उच्च मावि सञ्चालकहरु पनि ब्रिजकोर्स सञ्चालकहरु भएठाउ धाउन थालेका छन् । उनीहरु आफ्नो कलेजको विषयमा विज्ञापन गर्न र आफ्नो कलेज भ्रमण गराउन शिक्षक, गाडी र थप नजराना समेत दिने गरेको कजेल सञ्चालकहरु नाम उल्लेख नगर्ने शर्तमा स्वीकार्छन् ।

विद्यार्थी र अभिभावकले थाहै नपाउने गरी अर्को ठूलो खेलो ब्रिजकोर्स इन्स्टिच्युटमै हुन्छ । ब्रिजकोर्स सञ्चालकहरुले विद्यार्थीको पटक–पटक परिक्षा लिन्छन् । परिक्षाको रिजल्ट समेत उनीहरु कलेज सञ्चालकहरुलाई बेच्छन् । त्यसमा उनीहरुले नाम, सम्पर्क नम्बर, विद्यार्थी पढेको स्कुलको नाम समेत उल्लेख गरिदिन्छन् । यसबाट राम्रा विद्यार्थी आफ्नो जालमा पार्न कलेजहरुलाई सजिलो हुन्छ । त्यसैले अहिले विद्यार्थीभन्दा बढी कलेज सञ्चालकहरु ब्रिजकोर्समा ‘फिसिङ’ गर्न तछाडमछाड गरिरहेका भेटिन्छन् ।

पहाडका विद्यार्थी तराई झर्ने, गाउँका सहर पस्ने र सहरका पनि राम्रा कलेज खोज्दै मूल सडकमा तामझामका साथ विज्ञापन गरिरहेका ब्रिजकोर्स सञ्चालन गर्ने इन्स्टिच्युटमा पुग्छन्, राम्रो कलेजको प्रवेश परीक्षामा सफल हुने, छात्रवृत्ति पाउने र भविष्यको पढाइ हुने लोभमा । तर, उनीहरु थाहै नपाई भित्रभित्रै दुई–तीन तहका व्यापारीहरुबाट किनबेचमा परिसकेका हुन्छन् ।

यस्तो विकृति नियन्त्रण कसले गर्ने ? शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल भन्छन, ‘हामीले शैक्षिक परामर्श लिने सबै संस्थाहरुलाई दर्ता गर्न आह्वान गरेका छौ,  निश्चित मापदण्डबाहेक अन्य काम गरे कानुनअनुसार कारवाही गर्छौ । ’ संस्थाहरुले दुई किसिमले दर्ता गर्न सक्नेछन् । कम्पनीअन्तर्गत दर्ता गरेमा शिक्षा मन्त्रालयमा दर्ता नगरेपनि हुन्छ । तर, मन्त्रालय र कन्पनी मध्ये एकमा अनिवार्य दर्ता गर्नुपर्नेछ ।

कम्पनी तथा मन्त्रालयअन्तर्ग दर्ता गर्दा निश्चित मापदण्ड पूरा गनुपर्छ । साथै मन्त्रालयले संस्थाहरुमा नियमित अनुगमन पनि गर्नेछ । शैक्षिक कामको प्रमाणपत्र लिने तर अन्य काम गर्नेहरुलाई नियन्त्रण गर्नको लागि दर्ताको नियम ल्याइएको प्रवक्ता लम्सालले बताए । उनले भने, ‘कम्पनी तथा मन्त्रालयअन्तर्गत दर्ता भएका संस्थाहरुले मापदण्डबिपरित काम गरेको पाइएमा खारेज गर्ने सम्मको कारवाही हुन्छ । ’


  •  
  •  
  •